काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्त भएको १ वर्ष पूरा भएको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।
मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको बैठकमा उनले सम्बोधनको तयारी भइरहेको जानकारी दिए ।
उनले भने, ‘१ वर्षका के–के कुरा पोजेटिभ गर्न प्रयास भयो, कति सफल र कति असफल भयो । कहाँ–कहाँ कमी रह्यो भन्ने कुराको म निष्पक्ष छानबिन गरेर राष्ट्रको नाममा सम्बोधनको तयारी गर्दैछु ।’
आउने दिनमा नयाँ ढंगले जनतालाई विश्वासमा लिने किसिमले भूमि सम्बन्धी विषय, वन सम्बन्धी विषय, प्रदेशहरूलाई बलियो हुने विषय र संघीय निजामती ऐन, प्रहरी समायोजन ऐन जस्ता विषयहरूमा स्पष्ट भएर जान चाहेको उनले बताए ।
नेपालीको आशा मर्न थालेको भन्दै उनले जनतामा आशा जगाउन चाहेको बताए । जनताको आशा मर्यो भने त्यो देशका निम्ति दुर्भाग्य हुने उनले बताए ।
उनले भने, ‘फेरि आशा जगाउने ढंगले एक पटक म बल गर्न खोज्दैछु । कहिलेकाहीँ मलाई लाग्छ, मैले नै यसपटक गर्नुपर्छ, अरुले गरेर हुँदैन यो काम । मैले गर्नुपर्छ । किनकि संघीय लोकतान्त्रिक गणतन्त्र, महिला, दलित, आदिवासी सबैको पहिचान, अधिकार जे जति भयो । त्यसमा नेतृत्वदायी भूमिका खेल्ने अवसर नेपाली जनताले दिएको हुनाले मैले गर्नुपर्छ भन्नेमा छु ।’




प्रतिक्रिया