काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब जनताले कम्युनिष्ट पार्टी भन्दैमा भोट नदिने बताएका छन् ।
राष्ट्रिय उद्योग व्यवसायी महासंघले शुक्रबार गरेको कार्यक्रममा उनले आउने दुई÷तीन वर्ष राम्रो काम गर्न नसकेमा जनताले कम्युनिस्ट पार्टी भन्दैमा भोट नदिने प्रष्ट पारेका हुन् ।
‘जनतालाई कम्युनिस्ट र कांग्रेस त्यतिधेरै मतलब हुँदैन भन्ने देख्यौं नि त हामीले, जनताले जसलाई पनि उखेलेर फालिदिन्छ,’ उनले भने, ‘कम्युनिस्ट साइनबोर्ड र संविधानमा लेखिएको नाराले हामीलाई बचाउँदैन, हाम्रो व्यवहारले बचाउने हो ।’
उनले सरकारको घोषणा र जनताले गरेको अनुभूतिबीच ठूलो विरोधाभास रहेको बताएका छन् ।
‘जनताले अर्कै महसुस गरिरहेको छ । हामीमाथि निकै राम्रो गरेका छौं भन्ठानेका छौं । हाम्रो नियत खराब छैन होला, हामीले राम्रो गर्न खोज्यौं होला, तर राम्रो गर्न खोज्नु एउटा कुरा हो । राज्यको हैसियतले जनताले त्यो कुरा महसुस गर्नु अर्को कुरा हो,’, प्रचण्डले भने ।
प्रचण्डले सरकारको काम कारबाही उल्टो दिशामा त छैन भन्ने प्रश्न पनि उठाए । अध्यक्ष प्रचण्डले दलाल नोकरशाहहरुले एकाधिकार कायम गर्ने वातावरण बनेको त छैन ?भन्दै प्रश्न गरेका थिए ।
‘कतै हामी उल्टो दिशामा हिँडेका त छैनौं ? हामीले झन् मध्यमवर्गलाई करमाथि कर थोपरेर उनीहरुको ढाड सेक्ने दिशामा त छैनौं,’ प्रचण्डले प्रश्न गरे, ‘दलाल नोकरशाहहरुले मज्जाले एकाधिकार कायम गर्ने वातावरण बनेको त छैन ?’
वरिपरि बस्ने र भक्ति गाउनेहरुबाट नेताहरुसमेत खतरामा रहेको भन्दै प्रचण्डले धर्ती छोड्ने र आकाशमा पुग्ने खतरा नेतामा झन् बढी हुने टिप्पणी गरे ।




प्रतिक्रिया