नवलपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसमेत एमसीसी सम्झौता परिमार्जन गर्ने पक्षमा रहेको बताएका छन् ।
नेकपा गण्डकी प्रदेशको आन्तरिक कार्यक्रममा सहभागी हुन शनिबार बिहान नवलपुर आइपुगेका अध्यक्ष प्रचण्डले यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीसमेत एमसीसीलाई परिमार्जन गर्ने पक्षमा रहेको बताए ।
‘हिजोमात्रै प्रधानमन्त्रीजीले हामीलाई ब्रिफिङ गर्नुभएको थियो,’ प्रचण्डले भने, ‘अमेरिकी रिपब्लिकन र डेमोक्रेटिकको टोलीसँग कुराकानी हुँदा प्रधानमन्त्रीजीले नै यो एमसीसी भनेको जस्ताको त्यस्तै पास गर्नुपर्ने भन्ने कुनै बाइबल होइन, यसलाई संशोधन गरेर पनि त लागू गर्न सकिन्छ भनेर अस्तिको दिन (बिहीबार) बताइसक्नुभएको छ ।’
अध्यक्ष प्रचण्डले पार्टीले गुपचुप पास गर्ने नीति नलिएको प्रष्ट पारेका छन् ।
‘चुपचाप पास गरिहाल्नुपर्छ भन्ने पनि होइन, राम्रोसँग बुझेर, अध्ययन गरेर यसलाई राष्ट्रको हितमा हुने गरीमात्रै टुंग्याउनुपर्छ भन्ने मत आएपछि हामीले कार्यदल बनाएको हो’, अध्यक्ष प्रचण्डले भने ।
उनले एमसीसी संशोधन भएर मात्र पास हुने बताए । ‘त्यो दुईचोटि संशोधन भइसकेको छ । यो सहमति पत्रमा हस्ताक्षर भएपछि पनि संशोधनै नभएको, जस्ताको त्यस्तै भन्ने कुरा होइन’, उनले भने ।
अध्यक्ष प्रचण्डले आजदेखि त्यसको अध्ययन हुने र एक–दुई दिनभित्र सचिवालय बसेर यसलाई टुंगो लगाउने बताए ।




प्रतिक्रिया