काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बागलुङको ढोरपाटन–९ को सुकुर्दुङ खोलामा आएको बाढीबाट भएको जनधनको क्षति भएको घटनाले आफू स्तब्ध भएको बताएका छन्।
पूर्वप्रधानमन्त्री दाहालले आज ट्वीटमार्फत सो घटनामा परी निधन भएकामा श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदनसमेत प्रकट गरेका छन् । बुधबार राति परेको अविरल वर्षाका कारण उक्त खोलामा आएको बाढीले बगाउँदा १२ जनाको ज्यान गएको छ भने ४१ जना बेपत्ता भएका छन् ।
अध्यक्ष दाहालले बाढीमा बेपत्ता भएकाको खोजी र उद्धार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रनिधि, सुरक्षा निकाय, समाजसेवीलगायत सबैमा आह्वान गरेका छन् । उनले बाढीमा परी निधन, बेपत्ता तथा विस्थापित परिवारजनलाई उचित क्षतिपूर्ति र व्यवस्थापनको लागि सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।
त्यस्तै सभामुख अग्निप्रसाद सापकोटाले बागलुङको ढोरपाटन नगरपालिका वडा नं ९ भुसुण्डे, दुनापोखरा, लाकुरीबोटमा अविरल वर्षापछिको पहिरो र सुकुर्दुङ खोलामा आएको बाढीले धनजनको क्षति भएको खबरले मर्माहत भएको बताएका छन् ।
आज वक्तव्य जारी गरी उनले दुःखद घटनामा निधन भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।
यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि सो घटनाबाट निकै ठूलो धनजनको क्षति भएको खबरले आफू स्तब्ध बनेको बताएका छन् ।




प्रतिक्रिया