काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीबाट छुट्टिएर गएका नेताहरुलाई पार्टी एकता गर्न आह्वान गरेका छन् ।
बिहीबार विभिन्न पार्टीबाट आएका नेताहरुलाई प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव र मोहन वैद्यलाई पार्टी एकतामा बोलाएका हुन् ।
‘अब बाँकी रहेका कमरेडहरुलाई पनि एकतामा आउन आह्वान गर्छु । किरणजी, बाबुरामजी र विप्लवले मूलधारमा फर्किनु देशको हितमा कम्युनिष्ट आन्दोलनको हितमा, सर्वहारा श्रमजिवी जनताको हितमा हुन्छ’, उनले भने, ‘जे छन् विवादहरु सँगै बसौं । एउटा विधि प्रक्रियामा गएर निर्णय गरौं । किनकी हामी कुनै पूँजीवादी दुनियाँ निर्माण गर्दै छैनौं । हामी समाजवादी आन्दोलनको तयारीमा छौं ।’
अध्यक्ष प्रचण्डले अब नेपालका कम्यनिष्टहरु एउटै पार्टीभित्र बसेर बहस गर्न सक्ने अवस्था निर्माण भएको बताएका छन् । उनले कम्युनिष्ट पार्टी विभाजन हुँदा कांग्रेस र पञ्चायतले मौका पाएको बताए ।
‘कम्युनिष्ट पार्टी विभाजन हुँदा पञ्चायतले ३० वर्ष शासन गर्न पायो । कम्युनिष्ट चोइटा-चोइटा भए त्यो जोडिनलाई ३० वर्ष लाग्यो । २०४६ सालको विभाजनपछि पनि कांग्रेसले पटकपटक चान्स पाउने, सरकार चलाउने स्थिति बन्यो’ उनले भने ।
अध्यक्ष प्रचण्डले दुई तिहाई जनमत ल्याउने कुरा चानचुने नभएको र पूर्वमाअोवादी र एमाले मिलेर दुई तिहाई जनमत ल्याउन सफल भएको बताए । उनले नेपालका सबै कम्युनिष्ट पार्टी एक भए मात्रै बहुमत सँधै कायम रहने स्पष्ट पारे ।
‘दुई तिहाईको सरकार सानो त्याग र तपस्याले भएको कुरा होइन । कसैले हामीले दुई तिहाई ल्याइहाल्छौं नि भन्यो भने त्यो मनोगत मात्रै हुन्छ,’ उनले भने ।




प्रतिक्रिया