अध्यक्ष प्रचण्डसँग यमलाल समूहका नेताको भेट, संयुक्त बैठक बोलाउने आश्वासन


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका असन्तुष्ट पक्षका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार भएको भेटवार्ताका क्रममा उनीहरुले नेकपा कर्णालीमा देखिएको समस्या प्रस्तुत गरेका थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने यमलाल कँडेल र प्रमुख सचेतकको जिम्मेवारी खोसिएका गुलावजंग शाहले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

उनीहरुले अध्यक्ष प्रचण्डसँग मुख्यमन्त्री शाहीले एकलौटी निर्णय गर्ने गरेको, सरकार जनतासामू लोकप्रिय बन्न नसकेकोलगायतका गुनासो पोखेका थिए ।

अध्यक्ष प्रचण्डले सानातिना विषयलाई मिलाएर जानुपर्ने र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीसँग भेट गरेर उक्त विवादलाई निष्कर्षमा पुर्याउने आश्वासन दिएको स्रोतले जानकारी दियो ।

केही दिन अगाडि बसेको अध्यक्षद्वयको बैठकले कर्णालीका पक्ष र विपक्षका नेताहरुलाई समस्या समाधानका लागि काठमाण्डु आउन निर्देशन दिएका थिए ।

सोहीअनुसार उनीहरुले अध्यक्ष प्रचण्डसँग छुट्टाछुट्टै भेट गरिरहेका छन् । भने प्रधानमन्त्री ओलीसँग भेट गर्ने समय पाएका छैनन् ।

मुख्यमन्त्री शाहीविरुद्ध १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । जसमा तत्कालिन माअ‍ोवादीका तीन जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement