चिनियाँ प्रतिनिधि मण्डललाई प्रचण्डको जवाफः ओली सच्चिए नेकपा फुट्दैन

चिनियाँ प्रतिनिधि मण्डललाई प्रचण्डको जवाफः ओली सच्चिए नेकपा फुट्दैन


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियां कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डल नेकपाका अध्यक्ष प्रचण्डलाई भेट्न सोमबार आज प्रचण्ड निवास खुमलटार पुगेको हो ।

प्रचण्डको सचिवालयका अनुसार उनीहरुबीच करिब १ घण्टा भएको भेटमा नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा कुराकानी भएको छ ।

प्रचण्डसँगको भेटमा उपमन्त्री गुओले पछिल्लो नेकपाको विभाजन र पुनः पार्टी एकताका लागि अन्तिम उपायकाबारेमा अध्यक्ष प्रचण्डसँग जिज्ञासा राखेको थियो ।

स्रोतकाअनुसार उपमन्त्री गुओले चीनले नेकपाको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएका थिए ।

‘चीनले नेकपाभित्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन । नेकपा एक भएको हेर्न चाहान्छौं । कसरी पार्टीलाई एक गर्न सकिन्छ ? त्यसका लागि चिनियाँ कम्युनिस्ट पार्टीले के सहयोग गर्नुपर्ने गर्न तयार छ’, उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।

जवाफमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन फिर्ता लिए मात्रै नेकपाको विवाद समाधान हुने बताएका छन् । उनले संसद पुर्नःस्थापना भए नेकपा फूटबाट जोगिने बताएका हुन् ।

‘ओलीले प्रतिनिधिसभा विघटन गरेर जनमतको अपमान गरेका छन्, यो गैरसंवैधानिक कदमकै कारण पार्टी फुटको बाटोमा लागेको हो, ओली यो कदमबाट सच्चिन जरुरी छ’, प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘हाम्रो कारणले अहिलेको यो अवस्था आएको होइन । प्रधानमन्त्री ओलीलाई हामीले सरकार सञ्चालनमा सहयोग नै गर्दै आएका हौं छ ।’

आइतबार नेपाल आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि अलग–अलग भेटवार्ता गरेको थियो ।

प्रधानमन्त्री ओलीसँगकाे भेटमा चिनियां कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले भेटमा चिनियां राष्ट्रपति सी चिनफिङले नयां वर्ष २०२१ को शुभकामना सन्देश सुनाएका थिए भेटमा दुवै नेताबीच नेपाल–चीन सम्बन्ध तथा नेकपा र चिनियां कम्युनिष्ट पार्टीबीचको सम्बन्धबारे समेत छलफल भएको थियो ।

सो टोलीले आजै नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेको छ ।

नेपालमा प्रतिनिधि सभा विघटन र सत्तारुढ नेकपामा विभाजन आएपछि राजनीतिक संकट बढेका बेला चिनियां कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओले नेतृत्व गरेको प्रतिनिधिमण्डल आइतबार काठमाण्डु आइपुगेको हो ।