काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली शिक्षक र बुद्धीजिवीसँग तर्सिएको आरोप लगाएका छन् । उनले ओलीलाई अन्धभक्त मन पर्ने भएकाले शिक्षक र बुद्धिजिवीलाई अलग राख्ने गरेको बताए ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीको प्रतिक्रान्तिविरुद्ध एक भएर वैचारिक र राजनीतिक आन्दोलनमा लाग्न शिक्षकहरुलाई आग्रह गरेका हुन् ।
‘बौद्धिक र क्रान्तिकारी मान्छे आफ्नो पक्षमा लाग्दैनन् भनेर उहाँ शिक्षक र बुद्धिजिविसँग तर्सिनुहुन्छ,’ उनले भने, ‘उहाँलाई हनुमान, दास, अन्धभक्त चाहिने, शिक्षकहरू त्यस्तो हुँदैनन् । उनीहरू विवेकशील हुन्छन्, क्रान्तिकारी हुन्छन् । यही कुरा बुझेर केपी ओलीले शिक्षकहरूलाई राजनीति बाहिर राख्न खोज्दा रहेछन् ।’
उनले एकता प्रक्रिया र महाधिवेशन दुवै नभएर पार्टी विभाजन भएको बताए । पार्टी एकीकरणका कुनै पनि जनवर्गीय संगठनले पूर्णता नपाएको उनले बताए ।
‘प्रवृत्तिको लडाइँ अगाडि आउनु थियो, आयो, केपी ओलीले गलत प्रतिक्रान्तिको वकालत गर्नुभयो, उहाँले जित्ने कुनै सम्भावना छैन,’ उनले भने, ‘हामी शान्ति र समृद्धिको पक्षमा उभियौं । हामी दह्रोसँग उभिएकाले हाम्रो जित कसैले रोक्नै सक्दैन ।’
अध्यक्ष प्रचण्डले आन्दोलनसँगै आफूहरुले संगठन विस्तारलाई तिव्रता दिइरहेको बताए । उनले पार्टी एकता भएर देशमा एउटा नयाँ भरोसा, ऊर्जा, उत्साह पैदा भएको बताउँदै निर्वाचनमा एउटै घोषणापत्रसहित दुईवटा कम्युनिस्ट पार्टी चुनावमा जाँदा सबैमा नयाँ ऊर्जा, उत्साह पैदा भएको स्मरण गरेका छन् ।
उनले केपी ओली नै शिक्षा क्षेत्रमा सुधार गर्न रोक्ने मान्छे भएको आरोप लगाउँदै शिक्षकलाई राजनीतिमा राख्नु हुँदैन भन्ने व्यक्ति भएको बताए । उनले केपी ओलीसँग आफूले पदका निम्ति लडाइँ नगरेको बताए । उनले प्रधानमन्त्री ओली रक्षात्मक अवस्थामा गइसकेको बताए । प्रचण्डले समूह–समूहले धाकधक्कु लगाए पनि जनताले साथ नदिएको बताए । उनले माघ २८ मा राजधानीमा एकताबद्ध भएर जनप्रदर्शन हुने बताए ।




प्रतिक्रिया