काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अोलीलाई हटाउने तयारी भएको बताएका छन् ।
बिहीबार बिहान सिन्धुलीमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले हिजो प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भन्नेहरुबीच एकता गरेर हटाउने बताए । उनले आफ्ना कदम असफल पार्न संसारभरका ठूला शक्ति लागेको पनि बताए ।
‘जे गरेर भए पनि केपीलाई हटाउन लागिएको छ । एकातिर केपी अर्कोतिर हामी भएका छौँ । हाम्रो पछि जनता छन् केपीका पछाडि प्रतिक्रियावादी छन् । तत्काल जसरी पनि केपी हटाउने हो । हिजो केपीको कदमलाई असंवैधानिक भन्नेहरुबीच एकता गरेर केपी हटाउने हो’, प्रचण्डले भने, ‘काठमाण्डु पुग्नेबित्तिकै गर्ने काम त्यही हो । यो हुन नदिन ठूला शक्ति लागेका छन् । संसारभरका ठूला शक्ति लागेका छन् । मैले उनीहरुलाई भनेअनुसार गरिनँ । मैले संविधान जारी नगर भन्दा मानिनँ त्यही भएर उनीहरुले मलाई रुचाएका छैनन् ।’
उनले केपी ओलीलाई चिन्न गल्ती भएको पनि बताए । अध्यक्ष प्रचण्डले पार्टीमा फटाहालाई बढी विश्वास गरेको भन्दै सरकारमा गएका मन्त्रीले पनि धोका दिएको बताए ।
‘केपी ओलीलाई चिन्न गल्ती भयो । फटाहा जाली झेली रहेछन् । केपी ओलीको मनभित्र पस्न सकिएन । पार्टीमा पनि फटाहालाई बढी विश्वास भयो । मैले नियतले त होइन तर गर्ने बेलामा अलि बुद्धि पु¥याइनँ । सकिइसकेको मान्छेलाई स्थायी समितिमा लगेँ । आत्मसमीक्षा गर्नैपर्ने देखेँ’, उनले भने, ‘आएर रोएपछि मन्त्रीमा पठाएँ । अहिले महंगो मन्त्रीको रुपमा बिक्री भए । अर्का लालगद्धारलाई लौ गृहमन्त्री खाउ भनेर दिएँ । त्यहाँबाट पनि धोका भयो ।’
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अोलीले फोन गरेर आफ्ना मनका कुरा भन्न चाहान्छु भनेको बताए ।
‘अस्ति बिहान केपीजीको फोन आयो, एकपल्ट कुरा गर्नुप¥यो कमरेड भनेर भन्नुभयो । मेरो मनका कुरा सबै तपाईँलाई भन्न चाहन्छु भन्नुभयो, तर मैले भेट्न मानिनँ,’ उनले भने, ‘मनका कुरा भन्ने हो भने खुमलटार आएरै भन्नुस् भन्नेवाला छु । अब झुक्किने समय सकियो ।’




प्रतिक्रिया