उद्धार तथा राहत वितरणमा जुट्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले बाढी र पहिरो प्रभावितको राहत र उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन् ।

केही दिन अघिदेखि परेको अविरल वर्षासँगै देशका विभिन्न भागहरुमा बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै अध्यक्ष प्रचण्डले महाविपत्मा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न नेता– कार्यकर्ताहरुमा निर्देशन दिएका हुन् ।

साथै उनले हराइरहेकाहरुको खोजी गर्न सरकारसँग आग्रह गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै बाढीपहिरोमा परि ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सम्बन्धित सबैमा अनुरोध गरेका छन् । अध्यक्ष ’प्रचण्ड’ले सरकारी रबैयाका कारण बाढी पहिरोमा धनजनको ठूलो क्षति भएको आरोप लगाएका छन् ।

‘मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको वेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको हो’ प्रचण्डद्धारा जारीे विज्ञप्तिमा भनिएको छ ।

बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागहरुमा धनजनको ठूलो क्षति भएको छ भने कोशी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुब्ने खतरा पैदा भएको भएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement