वादशाहलाई घोडाबाट ढाले जसरी केपीलाई ढाल्यौं, अब समाजवादको नयां सेना बन्छौं : प्रचण्ड

वादशाहलाई घोडाबाट ढाले जसरी केपीलाई ढाल्यौं, अब समाजवादको नयां सेना बन्छौं : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले युवा समाजवादको सेना बन्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

योङ कम्युनिष्ट लीग (वाइसिएल) नेपालको आजदेखि सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादी आन्दोलन सफल पार्न युवाको पहलकदमी आवश्यक रहेको बताएका हुन् ।

उनले वादशाहलाई घोडाबाट ढाले जसरी केपी ओलीलाई सत्ताबाट ढाल्न सफल भएको दाबी गरे । ‘वादशाहलाई घोडाबाट ढाले जसरी केपी ओलीलाई ढाल्यौँ । अब यस्ता प्रवृत्तिसँग लड्दै औजार समातेर हामीले समाजवादको नयाँ सेना बन्नु पर्छ,’ उनले भने ।

उनले समाजवादको नेतृत्व गर्नेगरी युवाले क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । माओवादी केन्द्रले युवालाई नेतृत्वमा ल्याउन पार्टी विधानमै सबै कमिटीमा २० प्रतिशत आरक्षणको व्यवस्था गरेको उनले जानकारी दिए ।

आफूले केही समयपछि उपयुक्त नेतृत्वलाई पार्टी नेतृत्वको जिम्मा दिई संस्मरण लेख्न चाहेको बताउँदै युवाको नेतृत्व विकास गर्न आफू लागिरहेको उनको भनाइ थियो । समाजवादी आन्दोलनको तयारीका लागि तत्कालीन नेकपा एमालेसँग एकता गरे पनि नेतृत्वले धोका दिएकाले एकता लामो समय टिक्न नसकेको उनको तर्क थियो ।

उनले केपी ओलीले प्रधानमन्त्री पदका लागि एमाले र माओवादीबीच एकता गराएको कुरा आफूले अहिले आएर मात्रै बुझेको बताए । ‘एमाले–माओवादी एकताका नाममा ओलीले त प्रधानमन्त्री प्राप्त गर्न ठगीधन्दा पो चलाएका रहेछन् । देशको कम्युनिष्ट शक्तिलाई बलियो बनाउन भनेर एकता गरेका थियौँ । हामी यता एकताको तमसुक हेरेर बस्यौँ । उता ओलीले प्रधानमन्त्री पद लगेको लग्यै गरे,’ उनले भने ।

आफूलाई अहिले पनि केपीसँगको एकताबाट के पाइस् भनेर सोधिने गरेको उनले बताए । ‘अस्ति भर्खर पनि पाँच दलको बैठकमा मलाई कांग्रेससहितका साथीहरुले यही कुरा सोध्नु भयो’, उनले भने, ‘अरु मैले के भनौँ र केपीसँगको एकताबाट ज्ञान प्राप्त गरेर आएँ भनिदिएँ ।’

ठूलो मेहेनतले अहिलेको सत्तारुढ पाँच दलको गठबन्धन बनेको जिकिर गर्दै अध्यक्ष दाहालले भने, ‘यो गठबन्धनलाई रक्षा र सुदृढ गर्नु अहिलेको आवश्यकता हो ।’ उनले अगाडी भने, ‘अब सबै चुनौती सकियो भन्ने छैन, गठबन्धनलाई भत्काउने, पुरानै दिशातर्फ लैजाने प्रयास भइरहेको छ । यसतर्फ युवा सचेत हुन आवश्यक छ ।’ अर्को प्रसङ्गमा उनले विज्ञान प्रविधिको उच्चतम रूप प्रयोग गरी भेला गर्न सफल भएकामा वाइसिएललाई बधाई तथा धन्यवाद व्यक्त गरे ।

उनले भने, ‘प्रविधिको प्रयोगबाट समय, खर्चलाई कटौती गरेर कार्यक्रम गर्न सकिन्छ भन्ने पुष्टि वाइसिएले गरेको छ । यो एउटा प्रेरणा र शिक्षाको रुपमा रहनेछ, यसका लागि वाइसिएललाई धन्यवाद, नेपालको कम्युनिष्ट आन्दोलनमा विज्ञान प्रविधिको प्रयोगको हिसाबमा यो भेला एउटा माइलस्टोन हुनेछ ।’

भेलामा बसिराख्दा आफू विसं २०३८ मा भारतको काशीनगर भन्ने ठाउँमा भएको युवा भेलामा आफू युवाको नेताको रूपमा सहभागी भएको स्मरण गर्दै उनले भने, “यो ४० वर्षको समीक्षा मैले गरेको छु ।”