काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।
बुधबार बिहान सुरेश वाग्ले र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताएका हुन् ।
उनले भने, ‘यो गठबन्धन तोड्ने षडयन्त्र पनि भइरहेको छ, देशभित्रबाट पनि देश बाहिरबाट पनि । एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन् ।’
अध्यक्ष प्रचण्डले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नसकिने बताएका छन् । उनले सत्ता गठबन्धनलाई बचाएर देशलाई क्षति हुनबाट बचाउने बताए ।
‘हामी चाहिं यथास्थितिमा हुन सक्दैन भनिराख्या छौं । हामी सकेसम्म गठबन्धनलाई बचाएर, यसको पनि समाधान सकारात्मक ढंगले होस्, देशलाई क्षति नहुने ढंगले चाहेका छौं,’ प्रचण्डले भने ।
साथै उनले संविधान संशोधन गर्ने विषयमा आफूुहरु सकारात्मक रहेको बताए । उनले अन्य दलहरुसँगको छलफलपछि संविधान संशोधन गर्ने बताए ।
प्रचण्डले खर्चिलो निर्वाचन प्रणालीले वडामा नेता कार्यकर्तालाई चुनाव लड्न पनि गाह्रो हुने स्थिति देखिएको बताएका छन् ।
‘वडाको चुनाव लड्न गाह्रो हुने स्थिति आउँदैछ । प्रदेशमा २÷४ करोड, संघमा १०/१५ करोड खर्च गर्नुपर्ने अवस्था देखिएको छ,’ उनले भने, ‘पुँजीपति र पैसा भएका बाहेक श्रमजीवी नेता/कार्यकर्ताले चुनाव लड्न सक्ने स्थिति छैन ।’




प्रतिक्रिया