काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला अभिव्यक्तिलाई लिएर नेपाली राजनीतिमा तरंग उत्पन्न उत्पन्न भएको छ । नेपाली राजनीतिको निर्णायक भनेर बुझिने प्रचण्डको अभिव्यक्तिले सोचमग्न बनाएको छ ।
१० बर्षे जनयुद्ध पछि शान्तिप्रक्रिया हुँदै संविधान सभाको निर्वाचन र संघीयता कार्यान्वयनसम्म निर्णायक बनेका प्रचण्ड यतिबेला आफुलाई कमजोर महसुस गरिरहेका छन् । उनका पछिल्ला अभिव्यक्तिले हजारौंको बलिदानीले सिञ्चित बनेको नेकपा माओवादी केन्द्र पार्टी नै विघटन हुने त्रास पैदा भएको छ । ३२ वर्ष पार्टीको नेतृत्व हाँकेका प्रचण्डले पार्टी नै विघटन गर्ने सम्मको अभिव्यक्ति दिन थालेको छन् ।
पार्टीभित्र पदलोभ बढ्न थालेको र जनभावना भन्दापनि पैसालाई बढी महत्व दिन थालेको भन्दै नेताहरुको आलोचना गरेका छन् । उनको अभिव्यक्तिले आम कार्यकर्ताहरु निराश बनेका छन् । भविष्यमा माओवादी केन्द्र साच्चिकै विघटन पो हुने हो की ? भन्ने चिन्ता उनिहरुमा छ । गत भदौ २३ गते जनयुद्धमा सेनाको आक्रमणबाट मारिएका सुरेश वाग्ले (बासु) र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी प्रतिक्रान्तिको सेवा गर्ने ठाउँमा पुग्ने हो कि भन्ने खतरा देखिएको बताएका थिए ।
‘हिजो त्यत्रा–त्यत्रा सहिदहरु, त्यत्रो बलिदान, त्यत्रो त्याग, समाज रुपान्तरण, क्रान्तिको निम्ति सम्पूर्ण समर्पण गरेर हिंड्ने पार्टी आज एमालेजस्तै हुने हो भने त यो पार्टीको औचित्य नै के रह्यो र । बरु योभन्दा राम्रो त यस्तो पार्टीलाई विघटन गरिदिए हुन्छ ,’ उनले भनेका थिए, ‘पद, पैसा, प्रतिष्ठा, गुट, अराजकतालाई नै प्रश्रय दिने र एमालेजस्तै हुने हो भने, हामी मार्क्सका चेला हौं भने त बरु यसलाई विघटन गरिदिनु इमान्दारी हुने भयो के । हामी क्रान्ति गर्छौं भन्ने, गर्ने चाहिं प्रतिक्रान्ति भएपछि त धोका हो नि जनतालाई । त्यो धोका नदिने हुनका लागि बरु बिघटन गर्ने भन्ने छलफल चल्न खोज्छ आजकल ।’
आफैसँग हार खाएका प्रचण्ड
सरसरति हेर्ने हो भने प्रचण्डको विरासत थाम्ने नेता माओवादीमा नदेखेको विश्लेषकहरु बताउँछन् । प्रचण्डले आफू समानका राजनीतिक क्षमता भएका नेताहरु खासै नदेखेको उनिहरु बताउँछन् ।
अर्को तर्फ एकछत्र पार्टीको कमाण्ड गरेका प्रचण्डलाई हिजोका दिनमा नजिक रहेर साथ दिनेहरुसमेत आज फरक धारमा लागेपछि प्रचण्ड एक्लिदै गएका हुन् । जसका कारण प्रचण्डमा नैराश्यता छाएको विश्लेषण गर्न थालिएको छ । प्रचण्डमा नैराश्यता छाएको प्रष्ट देखिएको राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले बताए ।
प्रचण्डपछिका एस म्यानहरु बाबुराम भट्टराई, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द, रामबहादुर थापा बादललगायतले छोडेपछि प्रचण्डले पार्टीमा आफूलाई एक्लो महसुस गर्न थालेका थिए । त्यसलगतै एमालेको विभाजनमा पनि दाहालले सहयोग गरेको पक्ष भन्दा विपक्ष बलियो भएपछि प्रचण्डमा थप नैराश्यता छाएको हो ।
पार्टीमा रहेका नेताहरुमा महत्वकांक्षा बढेपछि प्रचण्ड आजित भएर अभिव्यक्ति दिएको हुनसक्ने जैनेन्द्र जीवन बताउछन् । ‘प्रचण्डमा निराशा जाग्यो । एमालेमा पनि आफूले समर्थन गरेको पक्ष भन्दा अर्को पक्ष बलियो देखियो । अब मान्छेहरुले जनआन्दोलनको उपलब्धी नदेखिएपछि प्रश्नहरु उठाउन थाले । आफूले विश्वास गरेका नजिकका नेताहरुले पनि छोडेपछि उहाँमा निराशा छाएको हो ,’ उनले भने ।
प्रचण्डले माअोवादीबाट चोइटिएर गएका शक्तिहरुलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेका छन् । तर चोइटिएर गएकाहरु प्रचण्डको नेतृत्वमा फर्कन तयार भएको नदेखिएको बताइएको छ ।
‘माओवादीबाट चोइटिएका शक्तिहरु पनि आफूसँग शक्ति बढी भएर छुटिएका होइनन् । उनिहरु लड्दा लड्दै थाकेर विश्राम लिन छुट्टिएका हुन् । उनिहरुसंग एजेण्डा भन्दापनि जेलमा रहेका नेताहरुको रिहाइ र सम्मानजनक रुपमा सहभागिताको अपेक्षा गरिरहेका छन्,’ उनले भने ।
माओवादी छोडेर गएका डा. बाबुराम भट्टराईले माओवादी आन्दोलन सामन्ती, निरकुंशवादी राजतन्त्रको अन्त्य गरेर नेपालमा एउटा मौलिक ढंगले पुँजीवादी क्रान्ति सम्पन्न गर्न निर्माण गरिएको पार्टी र प्रयोग गरिएको एउटा नीति कार्यक्रम रहेको बताउँदै अब त्यो संघीय लोकतान्त्रिक, गणतन्त्रको संविधान जारी भइसकेकोपछि त्यो कार्यभार पूरा भएकाले त्यो भन्दा अगाडि बढेर वैकल्पिक शक्ति निर्माणतिर जानुपर्ने बताए ।
उनले त्यसमा प्रचण्ड पुरानै ठाउँ टाँसिएर बसेको र पुरानै सोच र संगठनले काम नगरेपछि उनी बेलाबखतमा विखण्ड गर्नुपर्ने बताएपनि त्यो औचित्य सिद्धिसकेको बताए । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले अब प्रचण्ड एउटा समाजवादी नयाँ धु्रवीकरणतर्फ जानु नै उपयुक्त हुने बताए ।
प्रचण्डको भनाईलाई डा. भट्टराईले यसरी जवाफ दिए
माओवादी आन्दोलन सामन्ती, निरकुंशवादी राजतन्त्रको अन्त्य गरेर नेपालमा एउटा मौलिक ढंगले पुँजीवादी क्रान्ति सम्पन्न गर्न निर्माण गरिएको पार्टी र प्रयोग गरिएको एउटा नीति कार्यक्रम थियो । अब त्यो संघीय लोकतान्त्रिक, गणतन्त्रको संविधान जारी भइसकेपछि त्यो कार्यभार पूरा भयो ।
हामी त्यो भन्दा अगाडि बढेर वैकल्पिक शक्ति निर्माणतिर जानुपथ्र्याे । त्यसमा प्रचण्डजी पुरानै ठाउँ टाँसिएर बस्नु भयो । पुरानै सोच र संगठनले काम नगरेपछि उहाँ बेलाबखतमा यसलाई विखण्डन गर्नुपर्यो भन्नुभएको छ, त्यो औचित्य सिद्धिसक्यो त हामीले पहिल्यै भनेकै हो । त्यसलाई मानेर उहाँ एउटा समाजवादी नयाँ ध्रुवीकरणतर्फ जानु नै उपयुक्त हुन्छ ।
परिवारिक तनाव
१० वर्षे जनयुद्धको नेतृत्व गरेका प्रचण्ड राजनीति मात्र नभई पारिवारिक रुपमा पनि तनावमा छन् । शान्ति प्रक्रियामा आएपछि लगातार दुई जना सन्तान गुमाउनुको पीडा र श्रीमतीको स्वास्थ्य अवस्थाले पनि प्रचण्डमा राजनीतिक सक्रियताको आशा मरेको देखिन्छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य राम कार्कीले प्रचण्डमा विभिन्न कारणले नैराश्यता देखिएको बताए । उनले पार्टीमा आफूले विश्वास गरेका व्यक्तिबाट धोका पाउनु र पारिवारिक अवस्थाले गर्दा प्रचण्डमा नैराश्यता आएको बताए ।
‘उहाँको परिवारमा पनि निरन्तर रूपमा केही न केही ट्र्याजिटी हुँदै आएको छ । दिनभरि दौडधुप गरेर साँझ घर पुग्दा सीता भाउजूको स्थिति देख्नुहुन्छ, त्यसले पनि स्वाभाविक रूपले उहाँलाई ब्रेक गरेको छ’ उनले भने, ‘अहिले पार्टी र माओवादी आन्दोलन नै संकटमा छ । यो संकटको समाधान गरेर पार्टीलाई कसरी अगाडि बढाउने भनेर चिन्तन गर्ने मान्छेहरूको कमीले अध्यक्षलाई निराश बनाए जस्तो छ । अर्को त्यसबाहेक उहाँले धेरै नै विश्वास गरेका मान्छेले नै विश्वासघात गरे । त्यसको पीडा पनि पोख्नुभएको होला ।’




प्रतिक्रिया