काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगोसँग खेल्ने दुस्साहस नगर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।
शुक्रबार नेकपा मसाल (सम्पर्क केन्द्र)सँग एकता गर्दै अध्यक्ष प्रचण्डले आफूलाई आगोको संज्ञा दिँदै आगोसँग खेल्ने दुस्साहस नगर्न चेतावनी दिएका हुन् ।
उनले भने, ‘आगोसँग खेल्ने दुस्साहस नगर्नुहोस् । आगोसँग खेल्दा के भयो भने कोही बालुवाटरबाट बालकोट पुगे र ६ प्रदेशकै मुख्यमन्त्री चैट भयो ।’
अध्यक्ष प्रचण्डले एमालेसँगको एकता जोगाउने आफूहरुको चहाना हुँदाहुँदै पनि जोगाउन नसकिएको बताए । सही राजनीति र विचारले एकता अघि बढोस् भन्ने थियो। तर एकतालाई सफल हुन दिएनन्’, उनले भने, ‘तर हामी फेरि एकता प्रक्रियामा अघि बढेका छौँ । अहिले तपाईंहरुसँग एकता भयो । यसैगरी माओवादी अब बलियो हुँदै जानेछ ।’
दाहालले अबको चुनावमा को विजयी हुने भन्ने जनताले देखाइदिने पनि बताए । अहिले पनि देशमा दुइटा विचार र वर्गबीच ध्रुवीकरण देखा परिरहेको बताउँदै अध्यक्ष प्रचण्डले गणतन्त्रलाई उल्ट्याउने षडयन्त्र भइरहेको बताए ।
‘अहिले पनि देशमा दुइटा विचार र वर्गबीच ध्रुवीकरण देखा परिरहेको छ । गणतन्त्रलाई उल्ट्याउने षडयन्त्र भइ नै रहेको छ’, उनले भने, ‘परास्त भएका सामन्ती तत्वहरु अहिले सक्रिय भएका छन् । तिनले प्रतिक्रान्ति र प्रतिगमनको प्रतिनिधित्व गरिरहेका छन् ।’




प्रतिक्रिया