काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाले विभिन्न मुलुकहरुमा सैन्य अखडा बनाएको आरोप लगाएका छन् ।
महाधिवशेनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्न अमेरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष साझेदारी प्रस्ताव गर्दै विभिन्न मुलुकमा सैन्य अड्डा बढाउने योजना बनाएको आरोप लगाएका हुन् ।
‘हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष शैन्य साझेदारी गर्नुका साथै विभिन्न देशमा सैन्य अड्डा बढाउने र सुदृढ गर्ने योजना बनाएको छ,’ उनले भनेका छन् ।
साथै अध्यक्ष प्रचण्डले अमेरिकाले आफ्ना साझेदारहरुलाई युद्धमा होम्ने तयारी गरिरहेको बताएका छन् । उनले अमेरिकाले भारतसँग सम्बन्ध सुधार गर्नुमा पनि चीनलाई रोक्ने उद्देश्य रहेको उल्लेख गरेका छन् ।
‘आज अमेरिकाले भारतसँगको सम्बन्धलाई सुदृढ गर्नूका पछाडि पनि त्यही रणनीतिले काम गरेको छ । वास्तवमा आज अमेरिका आफू मात्र नभई आफ्ना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको छ । नयाँ शीतयुद्धका रुपमा देखा परेको या परिघटनाले नयाँ युद्धलाई जन्म दिन र साम्राज्यवादले आफ्नो संकटमोचनको दिशामा अगाडि बढ्दैन भन्न सकिने स्थिति छैन्,’ प्रचण्डले उल्लेख गरेका छन् ।
उनले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले अमेरिका र चीनबीचको संघर्ष लोकतन्त्र र निरंकुशतन्त्रबीचको लडाइँको रूपमा व्याख्या गरेको उल्लेख गरेका छन् ।
प्रचण्डले भनेका छन्, ‘खासमा उसले शीत युद्धकालीन मानसिकताकासाथ चीन र रुससँगको प्रतिस्पर्धा चर्काएर लान खोजेको छ ।’




प्रतिक्रिया