काठमाण्डु- नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन काठमाण्डुमा जारी छ । आज दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार त्यसअघि बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत हुनेछन्। ती प्रतिवेदन पारित भएसँगै प्रचण्डले जवाफ दिनेछन् । प्रचण्डको जवाफपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने जनाइएको छ ।
अध्यक्ष पदमा प्रचण्ड पुनः निर्वाचित हुने देखिँदैछ तर सर्वाधिक चासो महासचिव पदमा देखिएको छ । त्यसैगरी महासचिव पदमा चर्चामा जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’ रहेका छन् । यी दुवैबीच लडाइँ हुँदा प्रचण्डले महिलाबाट पम्फा भुसाललाई महासचिव बनाउन सक्ने चर्चा पनि छ ।
तर नेत्री पम्फा भुसाल एकपल्ट पार्टी विभाजन गरेर मोहन वैद्यसँग गइसकेकाले उनलाई कार्यकारी पद दिने मनस्थितिमा अध्यक्ष प्रचण्ड नरहेको स्रोतले जनाएको छ । गुटगत कारणले वर्षमान र जनार्दन तथा पार्टी विभाजन गरेका कारणले पम्फा महासचिव बन्ने सम्भावना कम रहेको माओवादी नेताहरू बताउँछन् ।
अध्यक्ष प्रचण्डले मुख नखोलेको र बढी चर्चामा रहेका नेताहरूलाई महासचिवको जिम्मेवारी मिल्ने सम्भावना नरहेका बेला माओवादीको बढी प्रभाव क्षेत्र रहेको कर्णाली प्रदेशका इन्चार्ज शक्ति बस्नेतको नामलाई नेताहरूले अगाडि बढाएका छन् । गुटगत अभ्यास नगर्ने, वैचारिक र सांगठनिक स्पष्टता, प्रचण्डसँग निकटता रहेका कारण अन्तिममा नेता बस्नेतले पार्टी महासचिव बन्ने सम्भावना रहेको माओवादी उच्च स्रोतले जनाएको छ ।




प्रतिक्रिया