काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले राष्ट्रिय हित तथा गठबन्धन सरकारको रक्षाका लागि एमसीसीका अध्यक्षलाई पत्र लेखिएको दाबी गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको पत्र सञ्चारमाध्यमबाट सार्वजनिक भएलगत्तै प्रचण्डको सचिवालयले प्रष्टिकरण दिँदै अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ नरहेको बताएको हो ।
‘राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कूटनीतिक पहललाई गलतरूपमा ब्याख्या गर्नु र अनावश्यकरुपमा उछाल्नुको कुनै अर्थ छैन । २९ सेप्टेम्बर २०२१ मा एमसिसी मुख्यालयलाई प्रधानमन्त्री र हाम्रो पार्टीका अध्यक्षको तर्फबाट लेखिएको पत्र र त्यसबारे राजनैतिक वृत्त तथा जनस्तरमा गरिएका टिप्पणी, क्रिया र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको,’ प्रचण्डको सचिवालयले भनेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवामाथि एमसिसी पारित गर्नेपर्ने दबाब भएकोले भर्खरै बनेको गठबन्धन सरकार रक्षाका लागि उक्त पत्र लेखिएको प्रचण्डको सचिवालयले बताएको छ ।
प्रतिगमनलाई परास्त गरि भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि एमसिसी पारित गर्नैपर्ने दवाव भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो। र, पत्रमा एमसिसीका लागि राष्ट्रिय सहमति आवस्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केहि समय आबस्यक पर्ने कुरा उल्लेख गरिएको हो ।’
देशमा एमसिसीबारे राजनीतिक वृत्त, बुद्धिजीवी, प्रेसदेखि जनस्तरसम्म बिरोध र दवावको अवस्था विधमान रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले एमसिसीबारे गठन गरेको कार्यदलले पनि यसलाई ‘परिमार्जन बिना पारित गर्न नसकिने’ निचोड प्रस्तुत गरेकोले समेत गठबन्धनभित्रै यसबारे एउटै मत बनिहाल्ने अवस्था नभएकाले पत्र लेख्नुपरेको प्रचण्डको सचिवालयको दाबी छ ।
‘यही वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कुटनीतिक पहललाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले देश र जनताको हितलाई सर्वोपरि ठानी आफ्नो पार्टीका धारणा स्पष्ट गर्दै आएका छौं। यो परियोजना परिमार्जन बिना पारित गर्नु हुदैन भन्नेमा हाम्रो पार्टी दृढ छ।’




प्रतिक्रिया