काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । नेकपाको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाले बिहीबार बिहान प्रचण्डनिवास खुमलटारमा पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
केपी ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव विप्लव स्थानीय तहको निर्वाचनमा सहभागी हुने पक्षमा छन् तर, नेताद्धय वली र बास्तोला भने चुनावमा जान नहुने पक्षमा उभिएका छन् ।
चुनावको पक्षमा रहेका विप्लव र खड्गबहादुर विश्वकर्माले बुधबार बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । त्यसको भोलिपल्टै उनीहरुले प्रचण्डलाई भेटेका हुन् ।
‘नयाँ बर्ष २०७९को शुभकामना सहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग छलफल,’ भेटबारे नेता बास्तोलाले फेसबुकमा लेखेका छन्, ‘लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहलसंग भेट सुस्वास्थ्यको कामना ।’
प्रचण्डले नेकपाका नेताहरु आफुलाई भेट्न आएको भन्दै खुशी व्यक्त गरेका छन् । उनले आफुहरुको भेटबारे आफ्नै निवासमा आयोजित माओवादी ध्रुवीकरण कार्यक्रममा बोल्दै नेकपाका सिंगो समूह नै माओवादीमा एकतावद्ध हुने विश्वास व्यक्त गरेका छन् ।
‘मलाई खुसी लागेको छ, आज बिहान मात्रै पनि मैले नेकपाका केही शीर्ष नेताहरुलाई भेटेको छु,’ उनले भने, ‘र, मलाई विश्वास छ उहाँहरु पनि सोच्नुहुन्छ । सिंगै समूह नै एकतावद्ध होस् भन्ने हाम्रो कोशिस छ,’ उनले भनेका छन् ।
प्रचण्डले नेकपाका मूल नेतृत्व (विप्लव)सँग एकताबारे छलफल गरे पनि पुनः माओवादीमै फर्किन लाज मानेको बताए । ‘केही समयअघि मुख्य नेतृत्वसँग पनि ध्रुवीकरणबारे निकै गम्भीर कुरा गरिएको थियो । तर हिजो अलि छिटै ठूलो हुने सपना, प्रचण्ड हुने सपना बोकेर हिँड्नु भएको केही साथीलाई अलिकति लाज भएको छ,’ उनले भने ।
तर क्रान्तिकारीहरुले लाज मान्न नहुने भनाई थियो । ‘म के भन्छुभने क्रान्तिकारीहरुले लाज मान्नु हुँदैन । क्रान्तिकारी ध्रुवीकरण हुने कुरा हो । खुसीकै कुरा हुन्छ । त्यसैले आशा छ मूल नेतृत्वले सोचेर आउनुहुनेछ ।’
त्यस्तै उनले नेकपामा हुँदा पूर्व एमालेका नेताहरुले अबको नेता प्रचण्ड भनेपछि नयाँ षड्यन्त्र सुरु गरिएको स्मरण गराए उनले भने, ‘आज एमलेका नेताहरुले भनेको सुन्नुभएको होला, केही समय रोकेको भए पूरै पार्टी खाईसकेको थियो, उनीहरुले भन्छन् । हामीले भन्नुपर्दैन् । यो भनाईभित्र केही कुरा छ । हामी समाजवादी क्रान्तिमा छौं ।’
उनले घण्टीमात्रै बजाएर बसेर क्रान्ति नहुने बताए । उनले भने, ‘क्रान्ति त बाँगो/टिंगो बाटो हुँदै जान्छ, त्यो हामीले लेनिनबाट पनि देखेको हो, माओबाट पनि देखेको हो, माक्र्स र एंगेल्सबाट पनि देखेको कुरा हो । इतिहासका तमाम अनुभावबाट देखेको हो । त्यसकारण मलाई के लाग्छ भने फेरि पनि परार हामीले एमालेसँग एकता गर्दा माओवादी यदि नफुटेको हुन्थ्यो भने, तपाई/हामी सबै एकै ठाउँमा हुन्थ्यौं भने हामीले ६०÷४० भनेर गरियो, त्यसो गर्न गर्नुुपर्दैनथियो, सायद ६० हाम्रो हुन्थ्यो र ४० एमालेको हुन्थ्यो भने पार्टी फुट्दैनथियो । र, हामी साँच्चै त्यो पार्टीलाई समाजवादतर्फ लिएर जान्थ्यौं । त्यसकारण एमालेका सबै खराब छन् भनेर पनि सोच्न हुँदैन् । एमालेभित्र हामीले अढाई वर्ष पसेर हेर्यौं नि, को को सच्चा रहेछन् भनेर ? ८० प्रतिशतभन्दा बढि त ईमानदार कम्युनिष्ट छन् । तर, लिडरसिप भनेको कि भन्छौं नि, नेतृत्व चाबीजस्तो, नेतृत्वले यति धेरै भ्रम दिएर राखेको छ । उनीहरुले नेतृत्वको बन्दी भएका छन् । हामीले तिनलाइ पनि मुक्त गर्नुछ, हामीले तिनको पनि नेतृत्व गर्नुछ । अलिक ठूलो सोचाई नराखिनक क्रान्ति त अघि बढ्दैन् ।’




प्रतिक्रिया