पूर्व माओवादीहरु एक ठाउँमा उभिने वातावरण बन्दैछ : प्रचण्ड


काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धीलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र पनि रहेको टिप्पणी गरेका छन् ।

जनताका पक्षमा राजनीतिक नेतृत्वले गरेका कामलाई प्रभावकारीरुपमा कार्यान्वयन हुन नदिने तथा त्यसको मर्मलाई आत्मसात् गर्न नचाहने प्रवृत्तिकाविरुद्ध कर्मचारीले नै सकारात्मक हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कर्मचारीतन्त्रको यस्तो प्रवृत्तिलाई निरत्साहित गर्न कर्मचारीभित्रै अभियान चलाउनुपर्ने र सशक्त प्रतिवाद गर्नुपर्ने बताए ।

परिवर्तन संस्थागत गर्ने सङ्घर्षमा हामी सबैको साझा प्रयास र सङ्कल्प आवश्यक रहेको उनको भनाइ छ । विगतमा विभिन्न कारणले फरकफरक कित्तामा रहेका पूर्वमाओवादी क्रमशः एक ठाँउमा उभिने वातावरण बन्दै गएको उनले दावी गरे ।

त्यस अभियानलाई क्रमशः सफलतामा पुग्ने वातावरण सिर्जना भएको तथा त्यसले विस्तारै सफलता हासिल गर्ने उनले विश्वास व्यक्त गरे । सङ्घीय निजामति विधेयकलाई कर्मचारीकै माथिल्लो तहबाट अवरोध भएको भन्ने सूचना आफूले प्राप्त गरेको भन्दै उहाँले त्यस प्रवृत्तिका विरुद्ध दबाव दिन कर्मचारीलाई अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement