काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कमजोर हुनुको मुख्य कारण आन्तरिक गुटबन्दी भएको बताएका छन् ।
शुक्रबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शक्ति बस्नेत र जनार्दन शर्मालाई लक्षित गर्दै माओवादीको आधारशीला कर्णालीमा पार्टी कमजोर हुनुको मुख्य कारण आन्तरिक गुटबन्दी भएको बताएका हुन् ।
‘आन्तरिक गुटबन्दीकै कारण पार्टी पछाडि परेको छ, आफूलाई मै प्रचण्ड हुँ भन्ने मानसिकता भएकै कारण कार्यकर्ताभन्दा नेताका कारण पार्टी कमजोर भयो,’ उनले भने ।
माओवादीलाई पहिलो शक्ति बनाउने हो भने आन्तरिक गुटबन्दीको अन्त्य गर्नुपर्ने उनको धारणा थियो । त्यस्तै उनले सत्ता गठबन्धन दल सिट बाँडफाँटमा सहमति नजिक पुगेको बताए ।
उनले भने, ‘कुन–कुन क्षेत्र र प्रदेशमा दाबी गर्ने हो ? जित्ने आधार के हो भन्ने गृहकार्य गरेर दलहरु भोलि (शनिबार)को बैठकमा प्रस्तुत हुन्छौं । लगभग भोलिकै बैठकमा सहमति हुनसक्छ ।’
उनले आगामी निर्वाचनमा महिलालाई विशेष प्राथमिकतामा राख्न जोड दिए । उनले भने, ‘महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउने जिताउने हो भने पुरुषहरू पनि समानुपातिकतर्फ जान्छन, होइन् भने यो समावेशिताको खासै अर्थ रहँदैन ।’




प्रतिक्रिया