काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगरे राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने बताएका छन ।
शुक्रबार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले दुई पटक संसदले पारित गरेको विधेयक राष्ट्रपतिले पुन फिर्ता गर्न नमिल्ने बताए । उनले जुनसुकै विधेयक एक पटक फिर्ता गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको बताउँदै पुनस् दुवै सदनले पारित गरेपछि संविधान अनुसार प्रमाणित गर्ने विश्वास व्यक्त गरे ।
‘दोस्रोपटक संविधानले कुनै ठाउँ नै दिएको छैन त्यसकारण राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छ भन्ने नै लाग्छ,’ उनले भने, ‘हुन त मैले केही दिनअगाडि राष्ट्रपतिसँग भेट गर्दा उहाँले यो विषयलाई अलि ठूलै राजनीतिक विषय बनाउने सम्भावना देखेको थिएँ । त्यसकारण नगर्ने सम्भावना पनि छ ।’
प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणित नगरे अदालतसम्म पुग्ने अवस्था आउने बताए । उनले भने, ‘त्यसो भयो भने अदालतमा जान्छ यो ‘इस्यु’। अदालतको फैसलापछि त्यो अघि बढ्छ । दोस्रो उहाँले राजीनामा दिनुपर्ने स्थिति आउँछ ।’
प्रचण्डले अंगिकृत नागरिकताको विषयमा माओवादीको अग्रसरतामा नै सात वर्षको प्रावधान राज्य व्यवस्था समितिमा बहुमतले पारित गरिएको भए पनि त्यतिवेला सर्वसम्मत हुन नसकेको बताए ।




प्रतिक्रिया