कांग्रेसका नेतालाई खुसी बनाउने प्रयासमा प्रचण्ड

कांग्रेसका नेतालाई खुसी बनाउने प्रयासमा प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको पंशंसा गरेका छन् । बुधबार मोरङमा चुनावी सभालाई सम्बोधन गर्दै उनले डा. कोइरालाको प्रशंसा गरेका हुन् । उनले शेखरलाई शान्ति प्रक्रियाका एक पात्रको संज्ञा दिएका छन् ।

‘डाक्टर शेखर कोइरालाले गिरिजाप्रसाद कोइरालाको दाहिने हात भएर काम गरेकैले शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको हो।’, उनले भने । उनले शान्ति, लोकतन्त्र, संविधान रक्षा र समृद्धिका लागि गठबन्धनका कार्यकर्ताले एकअर्का दलका चुनाव चिह्नमा भोट हाल्नुपर्ने बताए ।

स्थानीय तहको चुनावसम्म डा. कोइराला नेकपा माओवादी केन्द्रसँग तालमेल गरेको विषयलाई लिएर देउवासँग रुष्ट बनेका थिए । उनले कम्युनिष्टहरुले रुखमा भोट नहाल्ने बताउँदै देउवासँग चुनावी तालमेल नगर्न आग्रह गरे । तर, पछिल्लो समय डा. कोइराला पनि देउवासँग रुष्ट छैनन् ।

सोमबार सत्ता गठबन्धन दलले गोरखा क्षेत्र नम्बर २ पालुङटारमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेसका वरिष्ठ रामचन्द्र पौडेलको प्रशंसा गरे । उनले पनि मौका परे वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गर्न सक्ने बताए ।

सोमबार सोही सभालाई सम्बोधन गर्दै प्रचण्डले पौडेलले देशको नेतृत्व गर्न सक्ने बताएका हुन् । ‘गोरखा १ मा म, डुम्रेमा रामचन्द्र पौडेल, लमजुङमा देव गुरुङले केन्द्रमा महत्वपूर्ण भूमिका राख्न सक्छन्, । मौका परे तीनटै नेताले देशको नेतृत्व गर्न सक्छन्।’, उनले भनेका थिए ।

प्रचण्डले पछिल्लो समय नेपाली कांग्रेसका नेताहरुको प्रशंसा गरिरहेका छन्। ठाउँ ठाउँमा पुगेर प्रधानमन्त्री र मन्त्री बनाउने सम्भावना भएको भन्दै कांग्रेसका नेताहरुलाई खुसी बनाउने प्रयास गरिरहेका छन् ।