काठमाण्डु- नयाँ गठबनधनबाट प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नलिंदै मन्त्रीमण्डलको वरियताक्रममा विवाद सुरु भएको छ ।
वरीयताक्रममा को ठूलो भन्ने विषयले अनौपचारिक रुपमा गठबन्धनभित्र प्रवेश पाएको हो । नवगठित मन्त्रिमण्डलमा प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वरीयताको पहिलो नम्बरमा छन्।
त्यस्तै दोस्रो वरीयताक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णु पौडेल रहदा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो वरीयताक्रममा छन् भने उपप्रधान तथा गृहमन्त्री रवी लामिछाने चौथो वरीयताक्रममा छन्।
यो वरीयता क्रममा तेस्रो नम्बरमा रहेका नेकपा माओवादीका नेतासमेत रहेका मन्त्री नारायणकाजी श्रेष्ठको असन्तुष्टि छ । उनले आफू दोस्रो मर्यादाक्रममा हुनुपर्ने माग गरिरहेको पार्टीका एक नेताले बताएका छन् । नेकपा माओवादी केन्द्र उच्च स्रोतका अनुसार श्रेष्ठ अहिले सरकारमा बस्ने कि बाहिरिने भन्ने दोधारमा रहेको बुझिएको छ ।
यही मर्यादाक्रमको असन्तुष्टिकै कारण श्रेष्ठ मन्त्रालय समेत गएका छैनन्। तर, मन्त्री श्रेष्ठले भने मन्त्रालय नजानुको कारणमा अस्वस्थता कारण देखाएका छन्।




प्रतिक्रिया