कतिपयले ऐतिहासिक उपलब्धिलाई बडो तितो र नमिठोसँग आक्रमण गरेको देख्छु : प्रचण्ड


काठमाडौं–नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याएर फेरि पुरानै निरङ्कुशतन्त्र अब नेपालमा असम्भव नरेहको बताएका छन्। ‘तर यो परिवर्तनलाई कमजोर पार्न चाँही खोजिरहेका छन् । बालीमा लाग्ने झारपातलाई बेलाबेलामा उखेलेर फाल्नुपर्छ,’ आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने।

प्रचण्डले अझै पनि राष्ट्रका प्रमुख समस्याहरु समाधानका लागि एकता आवश्यक रहेको उल्लेख गरे। एक अर्को प्रशंगमा सबै राजनीतिक शक्तिहरुलाई नयाँ संकल्पका लागि एकजुट हुन उनले आग्रह गरे।

अप्ठ्यारो परिस्थितिमा पनि निर्वाचन सकेर संविधान कार्यान्वयन प्रक्रियामा देशलाई लैजानुमा सबै राजनीतिक शक्तिहरुबीच सहकार्य भएको प्रचण्डको भनाइ थियो। ‘सत्तापक्ष र प्रतिपक्ष छ । आलोचना र विवाद हुनुपर्छ । तर राष्ट्रहितमा सबैबीच समझदारी आवश्यक छ, ’ उनले भने।

संविधान संशोधनको मागप्रति लक्षित गर्दै उनले सबै असन्तुष्टीलाई सम्बोधन गरेर संविधानलाई गतिशील दस्ताबेजको रुपमा स्थापित गर्नुपर्ने बताए। प्रचण्डले समझदारीका आधारमा संविधान संशोधन गर्न सकिने संकेत पनि गरे।

हिजो सकिएको लगानी सम्मेलनले विकास र समृद्धिमा धेरै महत्वपूर्ण भूमिका खेल्ने प्रचण्डले बताए। उनले पछिल्लो समय नेपालको ऐतिहासिक उपलब्धिमाथि आक्रमण र षडयन्त्र भइहेको भन्दै चिन्ता व्यक्त गरे।

‘कतिपय मानिसहरुले मिडियामा ऐतिहासिक उपलब्धिलाई बडो तितो र नमिठोसँग आक्रमण गरेको देख्छु । त्यतिबेला चिन्ता लाग्छ । किन यसो गरिदैछ? शान्ति सम्झौता प्रचण्ड एक्लैले गरेको त होइन । गिरिजाप्रसाद कोइरालासहित ७ राजनीतिक दलले पनि गरेका हुन्,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
Advertisement