काठमाडौँ— नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आधार वर्षमा सफल भएको बताएका छन्। प्रचण्डले सरकारले एक वर्षलाई जुन आधार वर्ष भनेको थियो, त्यसमा सरकारले सफलता हासिल गरेको बताएका हुन्।
उनले भने, ‘एक वर्षको अवधिमा थुप्रै ऐन नियमहरु, कानुनहरु बनेका छन्, विकासका आधार खडा भएको छ, मलाई लाग्छ, यसमा सरकार सफल भएकै छ ।’ उनले कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण, व्यवसायीकरण, उत्पादन र रोजगारीमुखी बनाउन सकेनौँ भने हाम्रो समृद्धिको यात्रा समृद्ध नेपाल र सुखी नेपाली पूरा नहुने बताए। प्रचण्डले वैज्ञानिक भूमिसुधार, औद्योगीकरण, कृषिमा युवालाई आकर्षण गर्ने नीति अहिले सरकारको कार्यक्रममा छ, यो नीति लिएर अगाडि बढेमा सरकार सफल हुने बताए।
नेपालमा अझै पनि ६५ प्रतिशत जनसंख्या कृषिमा नै आश्रित भएकोले कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकीकरण आवश्यकता रहेको प्रचण्डले बताए। भूमि र कृषिलाई नीति तथा कार्यक्रममा राखेकोमा सरकारको प्रसंशा गर्दै उनले भने, ‘कृषि र भूमिलाई आयको वातावरण जबसम्म बनाउन सक्दैनौं तब सम्म हामीले सुखी नेपाली समृद्धि नेपालीको सपना साकार बनाउन सक्दैनौं।’
अध्यक्ष प्रचण्डले नयाँ र ठूला कल्पना गरेर देश विकासमा लाग्नु पर्ने बताए। अहिले सरकार र जनप्रतिनिधिहरुले विकासको कल्पना गर्न आग्रह गरे। ‘हो हामीले अहिले भनेका कुराहरु स्वरैकल्पना हुनसक्ला। साँच्चै पूर्व–पश्चिम, उत्तर–दक्षिण रेल कुद्ला त? ठूला जहाज ग्राउन्ड बन्ला त ? ठूला–ठूला होटल बनेर विकासको फड्को मार्ला त ? यस्तो कुरा गर्दा काल्पनिक जस्तो लाग्छ जनतालाई आश्वासन दिए जस्तो लाग्छ। तर हामी नेताहरु, माननीय र सबै तहका जनप्रतिनिधिहरुले सपना देख्न थाल्नुपर्छ।’
उनले भने, ‘विकासको यात्रालाई सहज ढंगले अगाडि बढाउन अझै पनि सहमति र सहकार्यको आवश्यकता छ, विकास र समृद्धिमा को प्रतिपक्ष ? को सत्तापक्ष ? एउटै यात्रामा हामी हिँड्नुपर्छ ।’ अध्यक्ष प्रचण्डले सरकारले एक वर्षको अवधिमा दुरगामी महत्व र विकासको नयाँ आधार खडा गर्ने काम गरेको बताए।




प्रतिक्रिया