कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासन

कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन् ।

बिहीबार नेकपा माओवादी केन्द्रनिकट विभिन्न जनवर्गीय संगठनहरुले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै प्रधानमन्त्री प्रचण्डसमक्ष ज्ञापनपत्र पेस गरेका थिए ।

उक्त ज्ञापनपत्र ग्रहण गर्दै प्रचण्डले सबैभन्दा पहिले पहिचानको मुद्दा उठाउने पार्टी माओवादी भएको र त्यसलाई आफूहरुले अझै नछाडेको बताउदैँ पार्टीको तर्फबाट नाम सच्याउन पहल गर्ने आश्वासन दिएका हुन् ।

तत्कालीन एक नम्बर प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्नुपर्ने पक्षमा प्रदेश सभामा मतदान गरेको माओवादी केन्द्र त्यसको एक महिनापछि नामांकन सच्याउने पक्षमा उभिएको छ ।

गत फागुन १७ गते प्रदेशसभाबाट नाम पारित हुँदा माओवादी केन्द्रले भूगोलको आधारमा कोशी प्रदेशको पक्षमा मतदान गरेको थियो । तर, हाल भने नामांकन सच्याउने पक्षमा नेकपा माओवादी केन्द्र उभिएको छ । नेकपा माओवादी केन्द्रको बुधबार बसेको पदाधिकारी बैठकले कोसी प्रदेशको नामाकरणका विषयमा पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो ।

‘हाम्रो पार्टी पहिचानको पक्षमा छ । पहिचानकै पक्षमा हाम्रो अडान राख्नुपथ्र्यो त्यतिखेर अलिकति कमजोरी भएको छ, प्रदेश कमिटीलाई हामीले पहिचानकै पक्षमा छौँ भनेर रिजर्भेसन राख्ने कुरा भएको छ ।’, बैठकपछि माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले भनेका थिए ।