काठमाण्डु- नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको भन्दै सूचना सुनाएको छ । आइतबार बसेको संसद बैठकमा नकपा एमालेका सांसद पन्तले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री हराएको सूचना सुनाएका हुन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री सहभागि नभएपछि उनले ब्यंग्य गरे । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा उनले प्रहरीले मानिस हराएको सूचना निकाल्ने शैलीमा संसदमा प्रधानमन्त्री हराएको सूचना पढेका थिए ।
यस्तो छ उनले सुनाएको सूचना–
‘नागरिकताको नाम : श्री पुष्पकमल दाहाल
चलन चल्तीको नाम : प्रचण्ड
स्थायी ठेगाना : फेरिराख्ने
अस्थायी ठेगाना : कहिले खुमलटार, कहिले बालुवाटार ।
हुलिया : पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरासुरुवाल र टोपी लगाउने, उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाऊ ।’




प्रतिक्रिया