नागरिकता विधेयक प्रमाणीकरण र भारत भ्रमणः विपक्षी दलको घेराबन्दीमा प्रधानमन्त्री प्रचण्ड


काठमाण्डु- भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणको विषयलाई लिएर विपक्षी दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई घेराबन्दी गरेका छन् ।

विवादित नागरिकता विधेयकलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको र जेठ १७ देखि २१ सम्म भएको चारदिने भारत भ्रमणलाई लिएर प्रतिपक्षी दलहरुले प्रचण्डलाई घेराबन्दी गरेका हुन् ।

आइतबार प्रधानमन्त्री प्रचण्डले संसदमा यी विषयमा जवाफ दिनुपर्ने भन्दै प्रतिपक्षी दलले विरोध गरेपछि संसद बैठक आजसम्मका लागि स्थगित भएको थियो । आज प्रधानमन्त्री प्रचण्डले संसदमा स्पष्टिकरण दिने भएसँगै संसद चल्ने सहमति जुटेको थियो । जसअनुसार विवादीत विषयमा आजको संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ पनि दिए । तर, प्रचण्डले जवाफ दिए पनि पुन एमाले, राप्रपा, र रास्वापा लगायतका विपक्षी दलहरु उनीमाथि खनिएका छन् ।

आज बसेको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भारतमा गएर नदी बेचेर आएको आरोप लगाएका छन् । उनले भारत भ्रमणबाट कुनै पनि उपलब्धि नभएको भन्दै उल्टै देशलाई बदनाम गर्ने काम भएको बताए। त्यस्तै पन्तले प्रधानमन्त्रीले नागरिकता विधेयकमा कन्टेन्टको कुरा गरेर आफूलाई पन्छाउन खोजिएको बताए।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन‍ले भारतले नेपालका केही भूभागसहित भारतीय संसद्मा राखेको नक्साबारेमा ढाकछोप गर्न लागेको पनि बताएका छन् ।

‘भारतीय संसद्मा राखिएको नक्साको विषयमा के हो?’, उनले भने, ‘बंगलादेश जाने बाटो भनेको के होरु समुद्रको अधिकार के होरु कालापानी सट्टापट्टाको कुरा हो कि होइन?’, उनले भने ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्को अधिकार छलेर मन्त्रिपरिषद्बाट सिधै राष्ट्रपतिलाई विधेयक पास गराउन लगाउनु गैरसंवैधानिक भएको बताए। ‘यदि यो विधेयक संसद्मा आएको भए हामी महिलामाथिको विभेदबारे बोल्थ्यौँ। यो दोषको प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ’, उनले भने, ‘हाम्रो अधिकार हनन भएको छ। संसदमा ल्याएर यसको प्रक्रिया पूरा गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस
Advertisement