काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेको योगदान सम्झिएका छन् । स्व. गिरिजाबाबुको १००औं जन्मशताब्दी अवसरमा चावहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गिरिजाबाबुले आफूलाई समाएर हिँडे पनि विगतमा गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदाको गल्तीले सधैं पोलिरहेको बताएका हुन्।
आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रूपमा रहँदा कोइरालालाई राष्ट्रपतिका रूपमा प्रस्ताव नगर्नुमा ठूलो गल्ती भएको उनको भनाइ छ। , ‘म गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदै गर्दा गिरिजाप्रसाद कोइरालालाई पहिलो राष्ट्रपति प्रस्ताव गर्नैपथ्र्यो। यसमा मेरो गल्ती थियो। त्यो कुराको पश्चात्ताप ममा अहिले पनि छ।’, उनले भने ।
आफूले पटक–पटक गल्ती गर्दा पनि गिरिजाले विश्वास गर्दै संरक्षण गर्न नछाडेको उनले स्मरण गरे। ‘बरु मैले गल्ती गरें, उहाँले बिल्कुल गर्नुभएन। कतिपय सन्दर्भमा मैले गरेका प्रतिबद्धता जस्ताको तस्तै पूरा गर्न सकिनँ। तर उहाँले मलाई कुनै न कुनै रुपमा संरक्षण गर्न छाड्नुभएन,’ प्रधानमन्त्री प्रचण्डले भने।
त्यस्तै त्यसबेला तत्कालीन सेनापति रुकमांगत कटुवाल प्रकरणका कारण राजीनामा दिने मनस्थिति बनाएपछि गिरिजाबाबुले प्रधानमन्त्री पदबाट राजीनामा नदिन पटक–पटक सम्झाएको उनले स्मरण गरे। ‘अस्पतालमा उहाँ मृत्युसँग जुधिराख्नुभएको थियो। मलाई बोलाएर सम्हाल्नू देश भनेका कुराहरूले मलाई गिरिजाप्रसाद कोइरालाप्रति आस्था, विश्वास भइराख्यो । उहाँको निधन भइसक्यो। शान्ति र संविधानको रक्षा गर्ने कुरामा मेरो जिम्मेवारी र दायित्व छ भन्ने कुराको प्रेरणाको स्रोत गिरिजा नै हो।’, उनले भने




प्रतिक्रिया