काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ ।
बुधबार साँझ नेपाल बुढानिलकण्ठको छलफलमा सहभागी भएपछि आज बालुवाटारबाट प्रधानमन्त्री प्रचण्डले माधव नेपाललाई फोन गरेका हुन् । टेलिफोन संवादमा उनीहरूबीच बर्तमान सत्ता गठबन्धनको बारेमा छलफल भएको छ ।
हिजो मात्रै बुढानिलकण्ठमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता मेटमणि चौधरी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेता शरतसिंह भण्डारी लगायतका नेताहरूसँग भेटवार्ता गरेका थिए ।
उनीहरुबीच मधेश प्रदेशमा वैकल्पिक गठबन्धनको सरकार बनाउनेबारे छलफल भएको छ । बैठकमा कांग्रेस सभापति देउवाले मधेस सरकारको नेतृत्व एमाले र माओवादी तिर जान नदिनको लागि वैकल्पिक गठबन्धन बनाउनुपर्ने प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावलाई अन्य नेताहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए ।
सभापति देउवाले माधवसहित अन्य साना दलका नेतलाई मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि वैकल्पिक गठबन्धन बनाउन प्रस्ताव गरेपछि प्रचण्डले नेपालसँग टेलिफोन संवाद गरेका हुन् ।
नेपालसँग टेलिफोन संवाद गरेको प्रचण्ड आफैले जानकारी दिएका छन् । टेलिफोन संवादमा नेपालले वर्तमान गठबन्धन भन्दा आफू बाहिर नजाने बताएको प्रचण्डको दाबी छ । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले माधव नेपालसँग टेलिफोन संवाद गरेको बताउदैँ नेपालले समीकरण भन्दा बाहिर नजाने भनेर स्पष्ट पारेको जानकारी दिए ।
‘उहाँ अलि पहिलेदेखि नै उतापनि यतापनि दुवैतिर जोडिनेजस्तो देखिएको त थियो । तर, आज बिहान मात्र माधवजीलाई फोन गरेको थिए । उहाँलेयो समीकरणभन्दा बाहिर छैन र हुन्न भनेर क्लियर गर्नुभएको छ’, प्रधानमन्त्री प्रचण्डले भने ।
त्यस्तै उनले मधेसमा पनि समीकरण भन्दा बाहिर कोही नहुने दाबी गरे । ‘समीकरण भन्दा बाहिर मधेसमा पनि अर्को बन्दैन । अहिले हाम्रो जेछ त्यही हुन्छ’, प्रचण्डले भने ।
यो पनि पढ्नुहोस्, वैकल्पिक गठबन्धन बनाउन माधव, उपेन्द्र र महन्थसमक्ष देउवाकाे प्रस्ताव




प्रतिक्रिया