काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकालसम्म जाने बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिएर आज स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धन पूरा कार्यकाल जाने बताएका हुन् ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा राजदूत फिर्ता गरिएका विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले त्यसलाई संयोगको संज्ञा दिए । उनले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले राजदूतको हैसियतमा भ्रमण दलमा नै सहभागी भई भूमिका निर्वाह गरेको उल्लेख गरे । उनले मन्त्रिपरिषदमा राजदूत फिर्ताबारे छलफल हुँदा त्यसबारेमा ध्यान भने नपुगेको स्वीकार गरे ।
‘उहाँ मेरो स्वागतमा आउनु पनि भएको थियो । र सबै कार्यक्रममा राजदूतको हैसियतले उहाँले सक्रिय भूमिका पनि खेल्नुभयो । मैले धन्यवाद पनि भनेर आएको छु । यो त्यही बेला पर्नु संयोग हो । त्यो कुरालाई त्यति ध्यान गएर क्याबिनेटमा यो विषय प्रस्तुत त भयो, दुई दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो ।’, प्रधानमन्त्री प्रचण्डले भने ।
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको शपथ ग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल आइतबार भारत भ्रमणमा गएका थिए ।




प्रतिक्रिया