काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण समारोहमा प्रधानमन्त्री दाहालले भने, ‘नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरु गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्छ । सरकारले त्यो दिशामा अघि बढेको छ ।’
प्रधानमन्त्री दाहालले आफूहरु वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको पनि बताए । ‘हामी एकताको प्रक्रियातिर अघि बढि नै सकेका छौं । यसलाई सफल पार्न हामी सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ,’ दाहालले भने ।
क्रान्ति र परिवर्तनका उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकारले अहिले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उनको भनाइ थियो । सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी लोकतान्त्रिक एवं प्रगतिशिल शक्तिको साथ र सहयोग आवश्यक रहेको दाहालले बताए ।
‘क्रान्ति र परिवर्तनलाई यि उपलब्धिहरु संस्थागत गर्दै समाजवादको आधार तयार पार्न यतिबेला सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको छ । सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी लोकतान्त्रिक एवं प्रगतिशिल शक्तिको साथ र सहयोग रहने विश्वास व्यक्त गर्न चाहन्छु,’ दाहालले भने ।




प्रतिक्रिया