संसदमा प्रधानमन्त्रीले भने– पहिलो र दोस्रो दललाई भयले जोड्यो

संसदमा प्रधानमन्त्रीले भने– पहिलो र दोस्रो दललाई भयले जोड्यो

देश प्राकृतिक प्रकोपमा परिरहेका बेला सत्ताको विडम्बनापूर्ण खेल भएको टिप्पणी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेलाई डरले जोडेको टिप्प्णी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव राख्दै प्रधानमन्त्री दाहालले भने, ‘पहिलो र दोस्रो दल त्यत्तिकै मिलेका होइनन् । डरले मिलेका हुन, भयले मिलेका हुन् ।’

उनले भने, ‘सरकारले सुशासन कायम गर्न थाल्यो भन्ने डरले तपाईँले यस्तो सहमति गर्नुभयो ।’ कांग्रेस–एमालेको सहमति जनताले अनुमोदन गरेको छ कि छैन मूल्याङ्कन गरिएको छ भनेर दाहालले प्रश्न गरे ।

‘मलाई प्रतिगमन र निरंकुशताको चिन्ता छ । सामान्यतः लोकतन्त्रमा प्रतिस्पर्धी दल मिलेर सरकार बनाउँदैनन् । संसारभरका अनुभवले पहिलो र दोस्रो दल मिल्दा निरंकुशतातर्फ गएको छ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान आग्रह गरे ।
संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको उनले स्मरण गरे ।

उनले भने, ‘यी सबै ऐतिहासिक र युगान्तकारी घटनाको एक प्रमुख नेताको हैसियतले म साथीहरूलाई भन्छु–सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजानुस् ।’

राष्ट्रिय सहमतिको पहलकदमी दिनकै उज्यालोमा जनताको खुला जानकारीमा पनि लिन सकिने बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही सम्मानित संसदमा सुरू गर्न सकिन्थ्यो । तपाईहरू विमर्श होइन, षड्यन्त्रमा हुनुहुन्छ भन्ने तथ्य तपाईहरूले सहमति गरेको ठाउँ र समयबाट पुष्टि हुन्छ । स्वाभाविक र विवेकसम्मत काम गर्दा त्यो तहको डर हुँदैन ।’

उनले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको पनि प्रष्ट पारेका छन् ।

‘नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन मलाई कुनै रूचि थिएन र छैन,’ दाहालले भने, ‘प्राविधिक तयारीका समय आवश्यक हुँदैनथ्यो भने म भोलिपल्टै पनि विश्वासको मतका लागि तयार थिएँ ।’

निरन्तर आफ्नो राजीनामा मागिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राजीनामाको नाम दिएर नतर्सिन सुझाव दिए । ‘केही साथीहरू डराइरहनुभयो र राजीनामा मागिरहनुभयो । साथीहरूको आपसी विश्वास कमजोर भएर हो वा षड्यन्त्र आफैं सधै कमजोर हुने भएर हो, तर्सिरहनुभयो,’ उनले भने, ‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले समेत मलाई नैतिकताको पाठ पढाउने प्रयास गर्नुभयो ।’

बाढीपहिरोको चपेटामा देश परेर सरकार चौबीसै घण्टा खटेर उद्दार र राहतमा लागिरहेको बेला वक्तव्यबाजी गरेर कर्मचारीतन्त्रलाई धम्क्याएर र फकाएर सरकारलाई प्रभावहीन बनाउन कोशिस गरिएको प्रधानमन्त्रीले दबाी गरे ।

प्रधानमन्त्रीले एमालेले विश्वासको मत फिर्ता लिएपछि दीर्घकालीन असरका निर्णय र कुनै पनि नियुक्ति नभएको स्पष्ट पारे । उनले भने, ‘तपाईंहरूले कहिल्यै देखाउनुभएको छ यो नैतिकता ? अल्पमतमा परेपछि पनि विगतमा एमाले नेतृत्वले कस्ता कस्तासम्म निर्णय गर्नुभएको छ, त्यो रेकर्ड इतिहासमा सुरक्षित छ ।’

विश्वासको मत र प्रधानमन्त्रीको पदका विषयमा आफू कहिल्यै चिन्तित नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले दलहरूलाई पारदर्शी राजनीति गर्न सुझाव दिए । ‘मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्री रहुँला नरहुँला, त्यसमा म बिल्कुल चिन्तित छैन ।’

देश प्राकृतिक प्रकोपमा परिरहेका बेला सत्ताको विडम्बनापूर्ण खेल भएको पनि उनले टिप्पणी गरे ।

बिहानै आएका दुखद घटनाका कारण शुक्रबार बिहान मात्रै केही दिन बैठक सारौँ भन्ने सोच आएको पनि प्रधानमन्त्री दाहालले बताए ।

‘मैले एक मनले सोचेको थिएँ बिहान। दुईवटा बस बगेको, कास्कीमा ११ जनाको मृत्यु भएको, अन्य घटना भएको बेलामा आज नै मैले विश्वासको मत माग्न उचित हुन्छ होला कि हुन्न,’ उनले भने, ‘तर दुईवटा दल मिलेको, छिटोभन्दा छिटो सरकार बनाउन खोजेको अवस्था छ । त्यसमा पनि हिजो प्रमुख सचेतकमार्फत दुई घण्टा बैठक सारौँ भन्दा नहुने देखेपछि सायद मैले केही दिन सारौँ भन्दा अर्को अर्थ लाग्ने देखेपछि सभामुखसँग यो कुरा गरिनँ ।’