काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरूले दिइरहेको संविधानविपरितका अभिव्यक्तिको भण्डाफोर गर्ने बताएका छन् ।
सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उनले सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छुट कसैलाई नभएको र यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए ।
जनयुद्धलाई ‘हिंसा’को रूपमा ब्याख्या गरिएकोतर्फ इंगित गर्दै अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ । तर संविधानको व्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ । त्यसमा सबै दलले हस्ताक्षर गरेका छन् । तर अहिले सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्सास गर्ने गरेका छन् । यो संविधानविपरीत अभिव्यक्ति हो । यस्तो बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ । संविधानमा भएको यथार्थलाई जोडदार रुपमा जनतामा लैजानुपर्छ ।’
प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको उल्लेख गर्दै उनले भने, ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन् ।’
‘प्रचण्डलाई राउन्ड किक हानेको भनेर पनि बोलेछन्, प्रधानमन्त्रीमा बसेका मान्छेले’, उनले भने, ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् । उनले (केपी ओली) त मलाई राउन्ड किक हानेका रहेछन्, जनताको राउन्ड किक उनले देख्नेछन् भन्ने म ठान्छु,’ अध्यक्ष प्रचण्डले भने ।
पटकपटक सहिद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता पाउन नसकलकोले पछिल्लोपटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरु खोजेर सहिदको नामावली राजपत्रमा प्रकाशित गरिएको र अब जनयुद्धका सहिदले राष्ट्रिय सहिदको मान्यता प्राप्त गरेको उनले बताए ।
आफूले गरेका राम्रा कामको अपनत्व र स्वामित्व लिन उनले आग्रह गरे । सरकारबाट बाहिरिएसँगै संगठन बनाउने र कमजोरी सच्याउने अवसर प्राप्त भएको उनले बताए ।




प्रतिक्रिया