चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समयमा कम्युनिष्ट आर्दश स्खलित बनेको बताएका छन् ।
नेकपाको चितवन जिल्ला समितिले चाडपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीलाई प्रतिगामीबाट खतरा नभएको प्रष्ट पारेका हुन् ।
प्रचण्डले भने, ‘कम्युनिष्ट पार्टीलाई प्रतिगामीबाट खतरा छैन, आफै भित्र मौलाएको अराजकताबाट खतरा छ, यस्ता प्रवृत्तिहरु हावी हुन दिनुहुँदैन ।’
साथै अध्यक्ष प्रचण्डले चितवनलाई अराजकताको केन्द्र बनाउन खोजेको भन्दै आक्रोश व्यक्त गरे । उनले देशभरिका प्रतिगामीहरुको खेल्ने थलोका रुपमा चितवनलाई प्रयोग गर्न खोजिएको जिकिर गरे ।
प्रचण्डले त्यस्ता प्रतिगामीहरुलाई पार्टीभित्रकै केही तत्वहरुले जान अञ्जानमा साथ दिएको पनि उनले टिप्पाणी गरे । प्रचण्डले सत्तामा पुगेपछि जनताका दुःख विर्सिने र जनताबाट टाढाबाट हुने प्रवृति बढेको बताए । अध्यक्ष प्रचण्डले रुस र अमेरिकाको उदाहरण दिँदै भने, ‘समाजवाद दुई/चार जना गुण्डाले हल्ला गरेर ल्याएको होइन ।’
‘प्रतिगामीहरुले धेरै माथि उठेको जिल्ला, पार्टी, नेतृत्वलाई नै आक्रमण गर्छन् र आक्रमणको योजना बनाउँछन्’ अध्यक्ष प्रचण्डले भने, ‘धेरै माथिबाट तल खसाल्न सकियो भने हड्डी पनि बाँकी रहदैन भन्ने उनीहरुलाई लागेको हुनसक्छ, यस्ता प्रवृत्तिहरुलाई चिन्नुपर्दछ ।’
प्रचण्डले फेरि एकपटक आन्दोलन गर्ने इच्छा रहेको बताए । समाजवादको उद्देश्य प्राप्तिका लागि र नेकपालाई कम्युनिष्ट पार्टीजस्तो बनाउन आन्दोलन गर्ने इच्छा रहेको प्रचण्डले बताए ।
‘हामी त जीवनको उद्धरार्धमा आइसक्यौं । बाँकी जीवन फेरि यो समाजवादको उद्देश्यका निम्ति, यो पार्टीलाई कम्युनिष्ट पार्टीजस्तो बनाउनका लागि आन्दोलन गर्ने इच्छा छ,’ उनले भने, ‘यो महान उद्देश्यमा साथ दिनुहुनेछ भन्ने मेरो विश्वास छ । हामी जित्छौं पनि। प्रतिक्रान्ति यसरी रोकिन्छ भनेर उदाहरण दिन पनि सक्छौं ।’
उनले नेताहरू र पार्टीमा अलिअलि धुलोमैलो लागेको पनि बताए ।
‘फेरि एकचोटी राष्ट्र, जनताको हितमा समर्पित भएर अब काम गर्छु भनेर दह्रोसँग संकल्प लियौं भने सकिन्छ । हामीमा अहिले अलिअलि धुलोमैलो लागेको मात्र हो,’ उनले भने, ‘हामीलाई कामै नलाग्ने गरी क्यान्सर भएको छैन । उपचार नै नलाग्ने गरी क्यान्सर भएको भन्न खोजेको होइन । ग्यास्टिक, अल्सर त्यतिसम्म होला क्यान्सर भएको छैन । त्यसको उपचार छ । बेलैमा उपचार गरौं । हामी माथि समीक्षा गर्दैछौं ।




प्रतिक्रिया