काठमाण्डु- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा स्थापित मान्यता र जनाधिकार रक्षा गर्न निरन्तर संघर्ष गरिरहने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहीबार आयोजित ३० औं जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष्न प्रचण्डले संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयासलाई निस्तेज पारिने बताए ।
‘अहिले पनि दुई वर्ग र प्रवृत्तिका बीचमा संघर्ष चलिरहेकै छ । हामीले धेरै वर्ष पहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि यसलाई जनताको गणतन्त्र हुन नदिने प्रयास हुनेछ भनेर आकलन गरेका थियौँ, आज त्यही स्थिति बनेको छ ।’ उनले भने ।
एकथरि तत्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासमा रहेको दाबी प्रचण्डले गरे ।
माओवादीले समुदायतर्फ फर्कँदै जनताका ‘एजेण्डा’ लाई दृढतापूर्वक अघि बढाउने र जनतासँगको एकतालाई बलियो बनाउने संकल्प गरेको उनले उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले ‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरू खरानी हुने चेतावनी दिए । ‘हजारौं शहीदहरूको बलिदानबाट रगतबाट सिञ्चित यो प्रक्रिया, हजारौं बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौं सयौं वर्षसम्म रहनेछ । कसैले मेटाएर यो मेटिने छैन । जसले मेटाउने दुस्साहस गर्छ उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ’, उनले भने । उनले समाजवादी मोर्चामार्फत् पार्टी एकता प्रक्रियालाई अघि बढाउन पहल गरिराखेको पनि दाबी गरे । त्यसको सकारात्मक संकेत पनि देखिएको उनको भनाइ छ ।




प्रतिक्रिया