काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री रहँदा अध्यादेश ल्याएरै भएपनि भूमिको समस्या समाधान गर्न चाहेको बताएका छन् ।
मंगलबार माओवादी केन्द्रद्वारा संचालित ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’का क्रममा मोरङको कानेपोखरीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले आफू भूमि सम्बन्धी र वन सम्बन्धी अध्यादेश ल्याएर भएपनि देशमा वर्षैसम्म लट्किएका भूमि सम्बन्धी समस्या समाधान गर्न खोजेको बताए ।
‘तर, त्यतिनै बेला राजनीतिक दलबीचमा उतारचढाव भएकाले त्यो सम्भव भएन’, दाहालले भने, ‘त्यतिबेला अध्यादेश ससंद बैठक नरहेकाले सदन छलेर अध्यादेश ल्याउनु हुँदैन भन्ठानेर रोकियो, रोकिएपछि रोकिएको रोकियै छ,’ अध्यक्ष दाहालले भने । तर सदनको प्रतिपक्षी दलको नेताको हैसियतले र पूर्वप्रधानमन्त्रीको हैसियतमा यो समस्या समाधान हल गर्न प्रतिबद्ध रहेको उनले बताए ।
दाहालले आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाउँदै गरेको दाबी समेत गरे । पछिल्लो समय पूर्वमा माओवादी र यसको एजेन्डाप्रति देखिएको आकर्षणले पूर्वमा रातो सूर्य उदाएको छ भन्ने भनाइ चरितार्थ भएकोे उल्लेख गर्दै उनले पछिल्लो स्थानीय तहको उपनिर्वाचनसम्म आइसक्दा यो व्यावहारिक रूपमै पुष्टि भएको र ८४ को निर्वाचनमा पुग्दा यसको देशव्यापी प्रभाव देखिने पनि दाबी गरे ।
पछिल्लो समय वर्ग र समुदायसँग अलि टाढा हुँदै गएको अनुभूतिसहित फेरि आफ्नो वर्ग र समुदायमा फर्कने निर्णयले जनतामा नयाँ उत्साह ल्याएको दाहालको भनाइ छ । अहिले एकातिर जनताले चाहेजति अधिकार पूर्ण नभएको र अर्कोतिर कांग्रेस–एमाले जस्ता दलहरूले भएकै संविधान लागू गर्न नचाहिरहेको उल्लेख गर्दै उनले ती दलले संविधानमा जता हेर्दा पनि माओवादीकै एजेन्डा देख्ने गरेको बताए । हिजो आफ्नो पार्टीलाई कसैले दया मायाले ठूलो पार्टी बनाएको नभई नेपाली जनताको बलले स्थापित भएको उल्लेख दाहालले गरे ।
विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग गठबन्धन गर्दा उनीहरूलाई फाइदा भएको, माओवादीलाई घाटा भएको र जनताका एजेन्डा कमजोर भएकाले अब त्यस्तो भुल नगर्ने भनाइ दाहालको छ ।




प्रतिक्रिया