विराटनगर- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका समस्या बुझ्न जागरण अभियान सुरु गरिएको बताएका छन् ।
प्रेस सेन्टर मोरङले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तराई–मधेसकेन्द्रित अभियान सुरु गरिएको बताए । अध्यक्ष दाहालले भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले नै वर्तमान सरकार बनेको आरोप लगाए ।
आफ्नो सरकारले भ्रष्टाचारीलाई कारबाहीमा ल्याउने अभियान चलाएपछि उनीहरूलाई संरक्षण गर्न कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको दाबी उनले गरे ।
‘हामीले सुशासन कायम गर्न खोज्यौं । भ्रष्टाचारी विरोधी अभियान सुरु गरेवापत, भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन थालेवापत भ्रष्टाचारीको संरक्षण गर्ने उद्देश्यले नै अहिलेको गठबन्धन सरकार बनेको हो’, अध्यक्ष दाहालको दाबी छ ।
दक्षिण भेगका जनतासँग साक्षात्कार गरी उनीहरूका समस्या, मुद्दा बुझ्न र नयाँ जनचेतनाका लागि गरिएको अभियान सुरु गरिएको उनले बताए ।
कांग्रेस र एमालेलाई ठूलो पार्टी बनाउन माओवादीले सहयोग गरेको भन्दै उनले कोसीको उपचुनावमा माओवादी ठूलो पार्टी भएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रमा आएपछि प्रत्यक्ष निर्वाचित कार्यकारीमा आफूहरूको रिजर्भेसन रहेको उनको भनाइ छ ।
अध्यक्ष दाहालले अब निर्वाचनमा कांग्रेस र एमालेसँग गठबन्धन नगर्ने पनि बताए ।




प्रतिक्रिया