काठमाण्डु- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसीसहित उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको दाबी गरेका छन् ।
धनुषाको कमला नगरपालिका ३ पर्सामा आइतबार आयोजित शहीद परिवार सम्मान तथा जनभेटघाटमा अध्यक्ष दाहालले महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारूलगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं शहीदले बलिदान गरेको तथा मधेसी जनताको मुक्तिका लागि एक हजार ३०० मधेसी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको बताए ।
मधेसी जनताको मुक्तिका लागि यति ठूलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको उनले उल्लेख गरे । ‘अब यो भ्रमको पर्दा च्यातेर माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको छ’, अध्यक्ष दाहालले भने ।
उनले आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट अब मधेसी जनताको मुक्ति सम्भव नभएकाले मधेसमुक्तिको जिम्मा माओवादीले नै लिने बताए ।




प्रतिक्रिया