काठमाण्डु- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र नामले नभई कामले बच्ने बताएका छन् । दलहरूले राम्रो काम गर्न सके गणतन्त्र संस्थागत हुँदै जाने उनले उल्लेख गरे ।
विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउन संवैधानिक, कानुनी तथा अन्तर्राष्ट्रिय परम्पराले नरोक्ने उनले बताए ।
वर्तमान सत्ता गठबन्धनप्रति माओवादी केन्द्रको समर्थन नरहेको उनले उल्लेख गरे । शनिबार राति बालुवाटारमा भएको छलफल शान्ति प्रक्रियाको सन्दर्भमा रहेको र अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा गणतन्त्रका पक्षधर एक भएको सन्देश दिइएको उनले बताए । यसलाई वर्तमान गठबन्धनलाई माओवादीले समर्थन गरेको र सरकारमा जान लागेको भन्ने चर्चा गरिएको भन्दै उनले खण्डन गरे ।
उनले भने, ‘गणतन्त्रप्रति गम्भीर खतरा आयो भनेर सोच्न आवश्यक छैन । गणतन्त्र खतरामा परेको भाष्य नै ठिक छैन । जनमत गणतन्त्रकै पक्षमा रहेकोले अत्तिहाल्नुपर्ने अवस्था छैन ।’
उनले तीन दलका शीर्ष नेताहरूसँगको छलफलका क्रममा शान्ति प्रक्रियाकाका बाँकी कामका विषयमा छलफल भएको बताएका हुन्।
गणतन्त्र खतरामा छ भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको पनि उनले बताए। प्रचण्डले जनमतको दृष्टिकोणले पनि गणतन्त्र खतरामा छ भन्ने पुष्टि नहुँने स्पष्ट पारे।
अहिले कांग्रेस–एमालेभित्रबाट पनि सरकारका विषयमा नकारात्मक कुराहरु आइरहेको दाबी गर्दै प्रचडले यो सरकार लामो समय जान नसक्ने बताए। नेकपा माओवादी केन्द्र विराटनगर कमिटीको आजदेखि विराटनगरमा सुरु हुन लागेको सम्मेलनमा सहभागी हुन प्रचण्ड विराटनगर आएका हुन्।
प्रतिक्रिया