काठमाण्डु – नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका छन् ।
अहिलेको सरकार बन्दा संविधान मिचिए पनि निर्वाचन गर्ने कुरामा आफूहरू सहमत रहेको बताएका छन् ।
शुक्रबार ललितपुरमा सम्पादकहरूसँग कुरा गर्दै संयोजक दाहालले भने, ‘अहिलेको परिस्थितिमा केही संविधान टेक आउट त भएको छ । त्यसमा हाम्रो असहमति पनि छ । तर ६ महिनापछि निर्वाचन गर्ने घोषणा भइसकेको स्थितिमा अब हामी निर्वाचन तिरै लाग्नुपर्ने हुन्छ ।’
घोषित मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन होस् भनेर माओवादी केन्द्रले निर्वाचनमै जाने निर्णय गरेको पनि उनले बताए ।
‘हाम्रा केही रिजर्भेसन छन्, तर अहिलेको अवस्थामा निर्वाचन वातावरण बनाउने नै हो,’ उनले भने ।
निर्वाचन हुनै सकेन भने अर्को कुरा सोच्न सकिनेतर्फ पनि उनले संकेत गरे । ‘निर्वाचन हुनै सकेन भने त्यसको विकल्पको बारेमा पछि सोचौंला । तर अहिले निर्वाचन सफल पार्ने र प्रतिनिधिसभा ल्याउनेतिर जोड गर्यौं’, उनले भने ।
देश अहिले गम्भीर सङ्कटको भूमरीमा फसेको बताउँदै प्रचण्डले यसबाट निकास दिन सबै राष्ट्रवादी, लोकतन्त्रवादी र देशभक्त शक्तिहरू एक हुनुको विकल्प नभएको बताए ।
पूर्ववर्ती सरकारको अहङ्कारले देशलाई दुर्घटनाको डिलमा पुर्याएको आरोप लगाउँदै उनले राष्ट्रिय सहमतिबाट मात्रै मुलुकको स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्न सकिनेमा जोड दिए ।
‘अहिले पनि हामीले अहङ्कारै प्रस्तुत गर्यौँ र आफ्ना कमीकमजोरी स्वीकार्न हिचकिचाउँ भने देश अझ ठुलो दुर्घटनामा जान्छ ।
राष्ट्र अहिले ठुलो सङ्कटमा छ, देशलाई माया गर्नेहरू एक हुनुको कुनै विकल्प मैले देखेको छैन’, उनले भने ।
संयोजक प्रचण्डले अहिलेको संविधान यथास्थितिमा काम गर्न नसक्ने प्रमाणित भइसकेकोले यसको परिमार्जन र संशोधनका लागि पनि राष्ट्रिय समझदारी अनिवार्य रहेको उल्लेख गरे ।




प्रतिक्रिया