काठमाण्डु– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले हालै सार्वजनिक भएको ‘दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको’ भन्ने दाबीलाई असत्य र भ्रामक भएको बताएको छ।
सचिवालयका अनुसार जेन–जी आन्दोलन सुरु हुनुअघि प्रचण्डको निवासबाट ठूलो मात्रामा रकम बाहिर लगिएको भन्ने समाचारहरू निराधार छन्। साथै, प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने प्रचारमा पनि कुनै सत्यता नरहेको सचिवालयले स्पष्ट पारेको छ।
प्रचण्डका स्वकीयसचिव गोविन्द आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘हामी सम्बन्धित सञ्चार माध्यमहरूलाई यस्ता निराधार आरोपहरूको प्रमाण पेस गर्न चुनौती दिन्छौं,’ सचिवालयका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ ।
सचिवालयले अभिव्यक्ति स्वतन्त्रताको नाममा गालीगलौज, चरित्र हत्या र मानहानी गर्न नपाइने संविधान र पत्रकार आचारसंहिताको प्रावधान स्मरण गराउँदै सूचना प्रवाह गर्दा सत्यता, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोण समेट्नुपर्ने न्यूनतम पत्रकारिता मूल्य र मान्यताको पालना गर्न आग्रह गरेको छ ।
त्यस्तै, यस्ता गलत प्रचारप्रसारहरू साइबर कानुनविपरीत हुने भन्दै कानुनी अनुसन्धानका लागि सम्बन्धित निकायहरूमा अनुरोध गरिएको छ । ‘भविष्यमा यस्ता तथ्यहीन र दुराशयपूर्ण सामग्रीहरू प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक तथा प्रसारक पक्ष स्वयंमाथि नै रहनेछ,’ विज्ञप्तिमा चेतावनी दिइएको छ ।
सचिवालयले आम जनसमुदायलाई यस्ता भ्रामक प्रचारप्रति भ्रममा नपर्न आग्रह पनि गरेको छ ।




प्रतिक्रिया