काठमाण्डु– नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उनले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताएका हुन् ।
संयोजक प्रचण्डले देश संकटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै संकटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको बताए ।
‘हाम्रो पार्टी नै जेन्जी आन्दोलन सुरु हुनुभन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो,’ उनले भने, ‘जेनजी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ ।’
सरकारमा बस्दा जेन्जीहरूलाई दमन गर्ने र जेन्जीमा माग र ऐण्डालाई समर्थन गर्दै आइरहेको पार्टी एउटै नभएको बताउँदै उनले थपे ‘सरकारमा बसेर जेन्जीहरुलाई दमन गर्ने र सडकमा जेन्जीका मागलाई सम्बोधन गर्नुपर्छ भन्ने पार्टी सबै एउटै हुन भनेर एकथरि मानिसहरुले प्रचार गर्ने गरेका छन् । हामी उनीहरु जस्तै होइनौं । माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेनजीहरुको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो ।’
यस्तै उनले केपी ओली नेतृत्वमा नरहे एमालेसँग पनि एकता हुन सक्ने बताए ।उनले भने ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।’




प्रतिक्रिया