केपी ओलीसँग प्रचण्डको प्रस्तावः पार्टी एकता गर्ने हो, सहकार्य भने आजैबाट थालौं

केपी ओलीसँग प्रचण्डको प्रस्तावः पार्टी एकता गर्ने हो, सहकार्य भने आजैबाट थालौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुकका अगाडि आइपरेको संकट समाधानका लागि वामपन्थी एकताको विकल्प नरहेको बताएका छन् ।

मदन भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा आइतबार राजधानीमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र मदन भण्डारी’ विषयक अन्तरक्रियामा प्रचण्डले देश बचाउन वामपन्थी शक्ति मिल्नैपर्ने बिन्दुमा आफूहरु पुगेको बताए ।

प्रचण्डले देश बचाउन सहकार्यबाट थालेर एकतामा पु-याउने घोषणा गरे ।

उनले सरकार संविधानका आधारभूत मान्यतामाथि प्रहार गर्न उद्धत हुँदै गएको र त्यसको प्रमुख ‘टार्गेट’ कम्युनिष्ट शक्ति रहेको उनको भनाइ थियो ।

‘हामीले परिस्थितिअनुसार विचारमा बहस पनि हुन्छ, संघर्ष पनि हुन्छ र एकता पनि हुन्छ भन्ने कुरालाई हामीले हेक्का राख्नुपर्छ । भदौ २४ पछि राष्ट्रियता संकटमा परेको छ । निर्वाचन पनि त्यही प्रक्रियाको कडीका रुपमा प्रस्तुत भइराखेको छ’, उनले भने, ‘यसको परिणतीका रुपमा २४ भयो, चुनाव भयो, अहिले भयो भन्ने हामीले देखिराखेका छौं । ढिलो नगरीकन भन्न चाहन्छु म । राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशता र वैदेशिक हस्तक्षेपका विरुद्ध वामपन्थी शक्तिहरु एकताबद्ध हुनुपर्छ ।’


आफूले आजै वा भोलि नै पार्टी एकताको कुरा नगरेको भन्दै सहकार्य भने आजैबाट थाल्न ढिलाई गर्न नहुने पक्षमा आफू रहेको उल्लेख गरे । ‘मैले भोलि नै पार्टी एकता गरौं, भरेबाटै गरौं भनेको छैन । मैले सहकार्य चाहिं सकिन्छ भने आजै, भरे नै, सकिन्छ भने भोलि नै गरौं भनेको छु’, उनल भने ।

प्रचण्डले सदन, सडक र सबैतिर सहकार्य थालेर पछि पार्टी एकतासम्म पुग्नुपर्ने बताए । ‘मिल्न जति ढिला गरियो त्यती नै ठूलो दुर्घटनाको भय छ । अहिलेको परिस्थितिमा हामी सबै सहकार्यको निम्ति एक हुनुपर्ने अवस्था छ । सहकार्यका लागि ढिला गर्ने मनस्थिति राख्नुपर्ने दुर्भाग्यपूर्ण हुन्छ’, प्रचण्डले भने ।

उनले आफूहरु ०७४ मा पनि मिलेको स्मरण गर्दै उनले उक्त एकतालाई करिब दुई तिहाई जनमत दिएर जनताले अनुमोदन गरेको बताए । हतारोमा एकता गरेर फुर्सदमा पछुताउने काम गर्न नहुने भन्दै उनले विगतमा एकता बचाउन नसक्नुको कारणबारे भने समीक्षा हुनैपर्ने जोड दिए ।

उनले ०७४ सालको निर्वाचनअघि राष्ट्रियसभा गृहबाटै तत्कालीन एमाले र नेकपा माओवादी (केन्द्र) बीच चुनावी तालमेलको सहमति भएको र त्यो नै नेकपा एकताको प्रस्थानबिन्दु भएको स्मरण गरे ।

‘०७४ सालको निर्वाचन आउँदै थियो, हामीले यही हलमा कार्यगत एकता निर्वाचनमा सहकार्यको घोषणा गरेका थियौं । त्यतिबेलाका प्रमुख दुई पार्टीका बीचमा र त्यहींबाट एकताको घोषण गरेका थियौं’, उनले भने, ‘अहिले हामी त्यही दुई पार्टीका नेता छौं र हल यही हो ।’

उनले मदन भण्डारीको निधन भएको दिन जेठ ३ गते पार्टी एकताको घोषणा गरेको पनि सम्झिए ।

यस्तै उनले वामपन्थीहरु मात्र नभई शान्ति प्रक्रिया र संविधान निर्माणमा सहकार्य गरेका काँग्रेससहित व्यवस्था पक्षधर शक्तिहरुबीचको सहकार्यमा समेत प्रचण्डले जोड दिए ।