काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल फेरबदलको विषयलाई लिएर आफ्नो नाम जोड्दै भ्रामक समाचार आएको भन्दै आपत्ति जनाएका छन् । आज प्रचण्डको सचिवालयमार्फत मन्त्रिमण्डल फेरबदलमा आफ्नो नाम जोडिएको भन्दै उनले खण्डन गरेका हुन् ।
प्रचण्डको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित÷प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ ।’
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल परिवर्तन गर्न चाहेको र जसमा प्रचण्डसँग सहमति हुन नसकेको समाचारहरु प्रकाशन प्रसारणमा आएका छन् ।
प्रचण्डले मन्त्रिमण्डल हेरफेरको क्षेत्राधिकार प्रधानमन्त्री ओलीको भएकोले आफूलाई जोडिरहन नहुने तर्कसमेत गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिमण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिईरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं ।’





प्रतिक्रिया