काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो गरेका छन् ।
भैरहवामा आयोजित लुम्बिनी औद्योगिक व्यापार तथा कृषि महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीले आफ्नो बाँकी जीवन देश र जनताका लागि समर्पित गरेको पनि उल्लेख गरेका हुन् ।
‘सरकार अझै पनि कहाँ अल्झिएको हो ?’, उनले भने, ‘जनअपेक्षा अनुसार काम भएको छैन । केही ढिलो पक्कै भएकै हो ।’
उनले पार्टीको नेतृत्वमा दुईतिहाइको सरकार हुँदा पनि व्यवसायीले चाहे जस्तो वातावरण बन्न नसकेको पनि गुनासो गरे । उनले पाँच वर्षभित्र नेपालका व्यावसायीले चाहेअनुसार लगानीको वातावरण निर्माण हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले अब सरकारले देखिने गरी काम गर्ने दाबी पनि गरे । ‘नयाँ उत्साहका साथ अब सरकारले विकासको लहर ल्याउनेछ । तपाईंहरु ढुक्क हुनुस्, अब देखिने गरी काम हुनेछ ।’
साथै प्रचण्डले शहर नभएको नयाँ ठाउँमा पनि प्रदेशको राजधानी राख्न सकिने बताएका हुन् ।
‘प्रदेशको राजधानीबारे एकजना साथीले ताकेरै भन्नुभयो । पक्कै पनि जनताको बीचमा जिज्ञासा छन्, प्रश्न छन् । बाँके–बर्दिया गयो भने एउटा भावना पाइन्छ, दाङ जाँदा रुकुम–रोल्पाका जनताको एउटा भावना छ । मैले बोल्दा सकेसम्म सबैलाई सहज हुने र सबैलाई लाभ हुनेगरी गर्नुपर्छ भनेर नेपालगञ्जमा जाँदा पनि दाङमा जाँदा पनि बोलें, अहिले पनि बोल्छु– सबैलाई सबैभन्दा बढी सुविधा कहाँ हुन्छ, त्यही राजधानी हुनुपर्छ,’ प्रचण्डले भने, ‘नयाँ ठाउँमा पनि राजधानीको विकास गर्न सकिन्छ, यो विषय अहिले पनि छलफलको चरणमा छ, मेरो भनाइलाई गलत नबुझिदिनुहोला ।’
सरकारबाट नमिलेका विषयलाई मिलाएर लैजाने प्रचण्डले प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्नु सरकारको प्रमुख दायित्व भएको बताए ।




प्रतिक्रिया