काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गरी नेकपा समाजवादी केन्द्र बनाउने प्रस्ताव गरेका छन् ।
बुधबार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसँगको भेटवार्तामा अध्यक्ष प्रचण्डले तीन पार्टीबीच एकता गरी नेकपा समाजवादी केन्द्र बनाउने प्रस्ताव गरेका हुन् ।
हिजो भएको छलफलमा प्रचण्डले माओवादी केन्द्र, माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी र डा. बाबुराम भट्टराईको जसपाबीच एकता प्रस्ताव अघि सारेको स्रोतले जानकारी दियो ।
प्रचण्डले माओवादी केन्द्रसँग मात्रै पार्टी एकता गर्न प्रस्ताव गरेका थिए । तर, भट्टराईले नमानेपछि प्रचण्डले तीन पार्टीबीच एकता गरेर जानुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
‘म पार्टीभित्र पनि सल्लाह गर्छु, अब पार्टी एकता गरौं र समाजवादी केन्द्र निर्माण गरौं । देशको राजनीति र भावी चुनावका कारण हामी मिलेर जानुपर्छ । माधवजीको पार्टी पनि अहिले हामीसँगै एउटै एजेण्डामा अघि बढिरहेको छ,’प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो ।
केही दिनदेखि डा. भट्टराई लगायतका नेतासँग निरन्तर भेटघाट भइरहेको र यही क्रममा बुधबार बिहान पनि डा.भट्टराईसँग भेट भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।
प्रचण्डसँगको छलफल सकारात्मक भएको भट्टराईले आफूनिकट नेताहरुसँग बताएका छन् । भट्टराई निकट एक नेताले भने, ‘उहाँहरुको भेट सकारात्मक भएको छ । समाजवादी केन्द्र अव छिटै निर्माण हुन्छ भन्नेमा हामी छौं ।’




प्रतिक्रिया