काठमाण्डु – जनता समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको ८औं महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदन पढेर कार्यकर्ता झुक्किने टिप्पणी गरेका छन् ।
आइतबारदेखि काठमाण्डुमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत सोमबार बन्दसत्रमा अध्यक्ष प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदन पढेपछि नेता भट्टराईले फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्ने भन्दै अबोध कार्यकर्ता केही बर्ष अरू झुक्किने टिप्पणी गरेका हुन् ।
‘माओवादी केन्द्रको महाधिवेशनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लाग्यो,’ भट्टराईले भनेका छन्, ‘फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्ने भो, अबोध कार्यकर्ता केही बर्ष अरू झुक्किने भए ! शुभकामना!’, उनले भनेका छन ।
पपुलिज्म वामपन्थी वा दक्षिणपन्थी जुनसुकै खोलमा आए पनि त्यो समाजका लागि हानिकारक हुने उल्लेख गर्दै उनले जनतालाई नेताले बाटो देखाउनुपर्नेमा भ्रम छर्न खोजेको आरोपसमेत लगाएका छन् ।
‘क्रान्तिकारी शब्दाडम्बरले झन् परिवर्तनका भोका उत्पीडित वर्ग र समुदायलाई दिशाहीन आवेगमा अल्झाएर बढी नोक्सान गर्छ। जिम्मेवार नेताले जनतालाई बाटो देखाउने हो, भ्रम छर्ने हैन,’ बाबुरामले भनेका छन्।




प्रतिक्रिया