काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गर्दा काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले तीखो टिप्पणी गरेका छन् ।
अध्यक्ष प्रचण्डले फेसबुकमा स्टाटस लेखेका थिए, ‘सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ । सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ । प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस् । भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ ।’
उनको यही स्टाटसमाथि प्रतिक्रिया जनाउँदै मेयर बालेन शाहले विगतको प्रसंग उठाउँदै प्रचण्डलाई कटाक्ष गरेका छन् । बालेनले प्रचण्डको पोष्टको कमेण्टमा लेखेका छन्, ‘एकादेशमा टिकटक पनि ब्यान्ड भएको थियो । हजुर प्रधानमन्त्री हुँदा पनि म मेयर नै थिएँ, काम हजुरबाट पनि केही भएन कमरेड ! मेरो लागि एक दिन दिइएको भए म काठमाडौँको खोला नाला फेरिदिन्थे ।’
बालेनको उक्त टिप्पणी सामाजिक सञ्जाल प्रयोगकर्तामाझ व्यापक चर्चा र सेयरको विषय बनेको छ । केहीले बालेनको टिप्पणीलाई प्रचण्डको नेतृत्वप्रति असन्तुष्टि र जवाफदेहिताको मागको रूपमा व्याख्या गरेका छन् भने केहीले राजनीतिक तहमा हुने खुला संवादको सकारात्मक संकेतका रूपमा पनि हेरेका छन् ।




प्रतिक्रिया