काठमाण्डु – नेकपाका नेता बामदेव गौतम र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । पार्टी विभाजनमा तटस्थ रहँदै आएका नेता गौतम शुक्रबार बिहान अध्यक्ष प्रचण्डको निजी निवास खुमलटार पुगेका हुन् ।
दुई नेताबीच आधा घण्टा कुराकानी भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । राष्ट्रियसभामा पहिलोपटक प्रवेश गर्नुअघि उनी प्रचण्ड निवास पुगेका हुन् ।
श्रोतका अनुसार प्रचण्ड निवासमा भएको भेटमा उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बताइएको छ ।
राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका गौतमको आज राष्ट्रियसभा बैठकमा पहिलो दिन हो ।
पार्टी विभाजन औपचारिक रुपमा घोषणा नभएपनि स्पष्ट दुई खेमामा विभाजन भइसकेको छ । दुवैले फरक फरक केन्द्रीय समितिको बैठक बसिरहेका छन् । यस्तो अवस्थामा पनि गौतम भने तटस्थ रहँदै आएका छन् ।
उनले आफू अहिले पनि नेकपा एकताको पक्षमा रहेको र एकताको ठाउँ राखेर मात्र गतिविधि गर्न दुवै समूहका नेताहरुलाई आग्रह गर्दै आइरहेका छन् । कानुनी दृष्टिले पनि नेकपा अहिले फुट्नै नसक्ने उनको तर्क रहेको छ ।




प्रतिक्रिया